कीर्ते जालसाजीको अभियोगमा बृहत्तर जनकपुरका अध्यक्ष साह पक्राउ



जनकपुरधाम, असार २३ । दुई महिनादेखि फरार रहेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह कीर्ते जालसाजीको अभियोगमा पक्राउ परेका छन् । परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी ४ जना कर्मचारी बर्खास्त गरेको अभियोगमा साहलाई आज नियन्त्रणमा लिइएको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिएका छन ।

परिषद्का कार्यकारी निर्देशक पासवानले अध्यक्ष साह आफ्नो हस्ताक्षर कीर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत चैत २८ गते उजुरी दिएका थिए । विधि विज्ञान प्रयोगशालाबाट माग भए बमोजिम कीर्ते हस्ताक्षर सम्बन्धी परीक्षण प्रतिवेदन प्राप्त भएपछि प्रहरीले जिल्ला अदालत धनुषाबाट वैशाख २५ गते पक्राउ गर्न अनुमति पाए लगतै साह फरार भएका थिए ।

साहमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत धनुषामा उपस्थित गराएको छ ।

साहले हस्ताक्षर कीर्ते गरी प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी, नासुद्वय मदन चौधरी र संजय मण्डललाई बर्खास्त गरेका थिए ।

नेकपा एकीकृत समाजवादीको सिफारिसमा बृहत्तर जनकपुरका अध्यक्ष नियुक्त भएका साह मुद्दाबाट जोगिनकै लागि समाजवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए । परिषद् कर्मचारीहरूका अनुसार अध्यक्ष साहले कार्यकारी निर्देशक पासवानलाई पटक पटक धम्की दिने, मनोमानी आदेश थोपार्ने र गैरकानुनी निर्णयका लागि दबाब दिदै आएका थिए ।

साहमाथि भारतीय नम्बर प्लेट भएको चार पांग्रे गाडीमा नक्कली नेपाली नम्बर प्लेट लगाएर चलाएको समेत आरोप छ ।

प्रकाशित मिति: २०८२ असार २३, सोमवार १८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको