एजेन्सी,
पटना, असार २८ । भारत सरकारका केन्द्रिय मन्त्री चिराग पासवानलाई ज्यानले मार्ने धम्की आएको छ । बिहार विधानसभाको निर्वाचन नजिकीदै गर्दा अज्ञात समूहले चिराग पासवानलाई ज्यानले मार्ने धम्की दिएका हुन ।
लोक जनशक्ति पार्टी (राम विलास) का अध्यक्ष समेत रहेका पासवानलाई जुलाई २० सम्ममा बमले उडाइ दिने धम्की फोनमा आएको हो ।
धम्की पाएपछि लोजपाका मुख्य प्रवक्ता राजेश भट्ट लगायतका नेताहरू प्रहरी चौकीमा पुगेर एफआईआर दर्ता गराएका छन । लोजपाका नेताहरूले चिराग पासवानलाई ज्यान मार्ने धम्की दिने अपराधीलाई तुरुन्तै पक्राउ गर्न र उनीविरुद्ध कडा कारबाही गर्न प्रहरीसँग माग गरेका छन ।
चिराग पासवान मोदी मन्त्रिपरिषद्का एक केन्द्रीय व्यक्तित्व हुन् । उनी २०२४ को लोकसभा चुनाव बिहारको हाजीपुर सिटबाट जितेर संसदमा पुगेका छन् । हाल उनी यस वर्ष बिहारमा हुने विधानसभा चुनावलाई लिएर धेरै सक्रिय देखिएका छन्। एनडीए गठबन्धनको हिस्सा भए पनि चिराग पासवानले सबै २४३ सिटमा चुनाव लड्ने खुला रूपमा धेरै पटक घोषणा गरिसकेका छन्।
ज्ञातव्य होस की बिहारमा नेताहरूलाई ज्यान मार्ने धम्की आउनु कुनै नयाँ कुरा होइन । केही दिनअघि मात्र राज्यसभा सांसद उपेन्द्र कुशवाहालाई पनि फोनमा ज्यान मार्ने धम्की आएको थियो । त्यसैगरी, यसअघि पूर्णियाका स्वतन्त्र सांसद पप्पु यादवलाई पनि धेरै पटक ज्यान मार्ने धम्की आएको छ।






