तिलौराकोटलाई विश्व सम्पदा सूचीमा पार्ने पहल असफल



रूपन्देही , असार २९। शाक्यवंशी राजा शुद्धोधनको राजधानी रहेको ऐतिहासिक स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्व सम्पदा सूचीमा पार्ने पहल विफल भएको छ । युनेस्कोमा मनोनयनका लागि लामो समयदेखि गरिएको तयारीपछि पनि यस वर्षका लागि सूचीबद्ध हुने आशा आज सकिएको हो ।

फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४७ औँ सत्रमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने विषयमा आज भएको अन्तिम छलफलमा यो अस्वीकृत भएको हो ।

आजको छलफल अघि नै युनेस्कोको प्राविधिक सल्लाहकार संस्था ‘इकोमस’ (स्मारक तथा स्थलहरूको अन्तर्राष्ट्रिय परिषद्) ले ‘डिफर’ (स्थगन) सिफारिस गरेकोले अहिले सूचिकृत हुने अवस्था कम भएको थियो तर आजको बैठकमा यसको सम्बोधन हुने झिनो आशा गरिए पनि त्यो पूरा नभएको फान्स रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले बताए । उनले अन्तिम समयसम्म गरिएको प्रयास असफल भएको जनाएका हुन् ।

लुम्बिनी विकास कोषमा सदस्यसचिव शानुराजा शाक्यका अनुसार इकोमसको ‘डिफर’ सिफारिस भनेको प्रस्तावित विषयलाई तत्काल निर्णय नगरी पछि सार्ने हो, जसले प्रक्रियामा अन्योल थपिन्छ । युनेस्कोले प्रायः निर्णय इकोमसकै सिफारिसमा आधारित भएर गर्ने भएकाले तत्काल सूचीमा सूचीकृत हुने सम्भावना हिजो नै कमी भएपनि आजको बैठकले त्यसलाई नहुने निश्चित गरेको उनले बताए ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने र बुद्ध जन्मस्थल लुम्बिनीलाई सम्भावित खतरा सूचीमा नराख्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामासहितको उच्चस्तरीय सरकारी टोली पेरिस पुगेको थियो ।
टोलीमा कोषका वरिष्ठ निर्देशक ज्ञानीन राई, संस्कृति मन्त्रालयका सहसचिव र पुरातत्व विभागका अधिकारी छन् । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार टोलीले द्विपक्षीय तथा बहुपक्षीय छलफलमार्फत तिलौराकोटको पक्षमा व्यापक लबिङ गरिरहेको छ ।

१००० पृष्ठको दस्तावेज, एक दशकभन्दा बढीको अनुसन्धान

२०२४ जनवरी ३१ मा नेपालका तर्फबाट स्थायी प्रतिनिधि तथा फ्रान्सका लागि राजदूत डा. सुधीर भट्टराईले करिब १,००० पृष्ठ लामो अन्तिम मनोनयन दस्तावेज युनेस्कोको विश्व सम्पदा केन्द्रमा बुझाएका थिए।

त्यसपछि इकोमसको उच्चस्तरीय टोलीले तिलौराकोटको स्थलगत निरीक्षण गरी मूल्यांकन प्रतिवेदन दिएको थियो, जसको आधारमा अहिले निर्णय हुने प्रक्रिया थियो। यस पटक विश्वभरबाट ३२ वटा साइट प्रस्तावित छन्, जसमध्ये २४ सांस्कृतिक, ७ प्राकृतिक र १ मिश्रित छन् ।

भारतको असहमति, ‘पिपरहवा’ र ‘गनवरिया’को दाबी

इकोमसको नकारात्मक सिफारिसमा भारतको अप्रत्यक्ष दबाब पनि एक कारण हुनसक्ने अनुमान गरिएको छ । युनेस्कोमा भारत प्रभावशाली राष्ट्रका रूपमा चिनिन्छ ।

भारतले उत्तर प्रदेशको सिद्धार्थनगरस्थित पिपरहवा र गनवरियालाई शाक्यहरूको राजधानी दाबी गर्दै आएको छ । तर, नेपालका पुरातत्वविद्हरूले तिलौराकोट नै प्राचीन कपिलवस्तु रहेको प्रमाणित भइसकेको बताउँछन् । पुरातत्वविद् वसन्त बिडारीका अनुसार, चिनियाँ यात्रीहरूको विवरण, भौगोलिक स्थिति र उत्खननबाट प्राप्त सामग्रीहरूले तिलौराकोट नै शुद्धोधनको राजधानी हो भन्ने पुष्टि भइसकेको छ ।

बिडारीले भारतलाई कन्भिन्स गरेर दुई देशको साझा सम्पदा भनेर ट्रान्स बोर्डर विश्व सम्पदाका रूपमा सूचीबद्ध गर्न सकिने बताउँछन् । उनका अनुसार जर्मनी, नेदरल्याण्ड र डेनमार्कले वाडेन सी, जिम्बाब्वे र जाम्बियाले भिक्टोरिया फललाई यस्तो साझा सम्पदाका रूपमा सूचीबद्ध गराएका उदाहरण छन् ।

प्रकाशित मिति: २०८२ असार २९, आईतवार ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको