पटनाको सरकारी अस्पतालबाट बिरामी बेपत्ता, बिहार स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न

बिहार स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न


एजेन्सी
पटना, असार ३२ । बिहारको राजधानी पटनाको एक सरकारी अस्पतालबाट बिरामी बेपत्ता भएको छ । करोडौं रुपैयाँ खर्च हुँदाहुँदै पनि पछिल्लो घटनाले बिहारको सरकारी स्वास्थ्य प्रणालीमा चरम लापरवाहीको नयाँ उदाहरण उजागर भएको छ। पटना स्थित राज्यकै एक प्रमुख सरकारी अस्पताल इन्दिरा गान्धी आयुर्विज्ञान संस्थानमा उपचाररत एक महिला बिरामी बेपत्ता भएको हो । जसले बिहारको स्वास्थ्य सुरक्षामाथि पुनः गम्भीर प्रश्न खडा गरेको छ।

मानसिक रुपमा अस्वस्थ्य समस्तीपुरकी रेणु देवीलाई ९ जुलाईमा इन्दिरा गान्त्री आयुर्विज्ञान संस्थानमा भर्ना गरिएको थियो । तर ११ जुलाईको बिहान, जब उनका छोरा निद्राबाट उठे, आमालाई अस्पतालको बेडमा नदेखेपछि उनी स्तब्ध भए । परिवारले अस्पताल परिसरभर खोजी गरे पनि उनी कहां गइन् भन्ने पत्तो लागेन । अन्ततः शास्त्री नगर प्रहरी कार्यालयमा बेपत्ताको उजुरी दर्ता गरिएको छ।

यो घटनामा सबैभन्दा दुःखद पक्ष भनेको अस्पताल प्रशासनले आवश्यक सहयोग नगरेको आरोप हो । परिजनका अनुसार, बारम्बार अनुरोध गर्दा पनि अस्पताल प्रशासनले सिसिटिभी फुटेज हेर्न दिइएन । अस्पतालले घटनालाई पर्याप्त गम्भीरतासाथ नलिएको देखिन्छ । बिरामी कहाँ गइन्, कसरी परिसरबाट बाहिरिइन् भन्ने पत्ता लगाउन प्रयास नगरेको परिवारजनले आरोप लगाएको छ।

उक्त अस्पताल राज्यको सबैभन्दा आधुनिक र विश्वसनीय स्वास्थ्य संस्थानहरूमध्ये एक मानिन्छ। यस्तो संस्थामा बिरामी हराउने र प्रशासनले कुनै प्रतिक्रिया नजनाउने अवस्था देखिनु स्वास्थ्य व्यवस्था प्रति गम्भीर लापरवाही हो । जब राजधानीको अस्पतालमा यस्तो अवस्था छ भने ग्रामीण तथा सुदूर क्षेत्रका अस्पतालको अवस्था कस्तो होला भन्ने सहज अनुमान गर्न सकिन्छ।

यो घटनाले सम्पूर्ण स्वास्थ्य विभागकै कार्यशैलीमाथि प्रश्न उठाएको छ । अस्पतालमा राखिएका मानसिक बिरामीहरूलाई थप निगरानी र सुरक्षाको आवश्यकता हुन्छ । तर यहाँ त्यस्तो कुनै व्यवस्थापन नदेखिनुका साथै सुरक्षाकर्मी, क्यामेरा, परिचारिकाको ध्यान — सबै पक्षबाट असफलता देखिएको छ।

रेणु देवीका छोरा भन्छन्, “हामीले अस्पतालमा बारम्बार गुहार ग¥यौं, तर कोही सुन्न तयार छैन। सिसिटिभी समेत हेर्न दिएनन्। यस्तो आधुनिक अस्पतालमा पनि यदि हाम्रो आमाको सुरक्षा छैन भने अरू बिरामीको के ग्यारेन्टी?”

प्रकाशित मिति: २०८२ असार ३२, बुधवार ०६:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको