परमाणु कार्यक्रम जारी राख्ने इरानको घोषणा



एजेन्सी, साउन ६ । ईरानले इजरायल र अमेरिकाका हमलाबाट परमाणु स्थलहरूमा क्षति पुगेको स्वीकार गरे पनि परमाणु कार्यक्रम जारी राख्ने स्पष्ट घोषणा गरेको छ । ईरानी विदेशमन्त्री अब्बास अराघचीले सोमबार पत्रकार सम्मेलनमा भने, “हाम्रा साइटहरूमा क्षति पुगेको हो, तर हाम्रो परमाणु कार्यक्रमलाई कसैले रोक्न सक्दैन, परमाणु कार्यक्रम जारी राख्छौ ।“

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पुनः ईरानलाई कडा चेतावनी दिएका छन्। उनले भने, “यदि ईरानले नयाँ परमाणु साइट बनाउने प्रयास ग¥यो भने, त्यसलाई पूर्ण रूपमा नष्ट गरिनेछ।“ ट्रम्पले दाबी गरेका छन् कि जुन महिनामा अमेरिकी हवाई हमलाले तीन प्रमुख परमाणु ठिकाना ध्वस्त पारिएको थियो, जसलाई पुनः सञ्चालनमा ल्याउन वर्षौं लाग्नेछ।

युद्धपछिको कूटनीतिक प्रयासस्वरूप ईरानले यसै साता तुर्किएको मेजबानीमा बेलायत, फ्रान्स र जर्मनीसँग परमाणु कार्यक्रमबारे वार्ता गर्ने घोषणा गरेको छ । युरोपेली युनियनकी विदेश नीति प्रमुख काजा कल्लास पनि यस बैठकमा सहभागी हुने बताइएको छ।

ईरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने, “वार्ताको मुख्य विषय प्रतिबन्ध हटाउने र ईरानको शान्तिपूर्ण परमाणु कार्यक्रमसँग सम्बन्धित छ।“

इजरायलले १३ जुनमा ईरानमाथि आक्रमण गर्दै युद्धको शुरुवात गरेको थियो । त्यसपछि ईरानले पनि इजरायलमाथि प्रतिकार गरेको थियो।
अमेरिका समेत सक्रिय हुँदै ईरानका तीन महत्वपूर्ण परमाणु केन्द्रहरूमा हवाई हमला गरेको थियो। यो सशस्त्र संघर्ष १२ दिनसम्म चलेको थियो, जसले पश्चिम एशियाली क्षेत्रलाई झन् संवेदनशील बनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यद्यपि वार्ताको घोषणा गरिएको छ, तर ईरानको अडान अझै पनि कठोर छ। यदि कुनै सहमति नजुटे, ईरान–इजरायल तनाव फेरि भयावह रूप लिन सक्छ।

प्रकाशित मिति: २०८२ श्रावण ६, मंगलवार ०८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको