एजेन्सी,
पटना, साउन १३ । बिहारको मनेर क्षेत्रका राजद (राष्ट्रीय जनता दल) विधायक भाई वीरेंद्र विरुद्ध पंचायत सचिव संदीप कुमारले ‘जूता हान्ने’ धम्की विवाद सम्बन्धमा प्रहरीमा उजुरी दर्ता गराएको छ ।
पंचायत सचिव संदीप कुमारले सोमबार एससी–एसटी थाना, पटना मा विधायक भाई वीरेंद्रविरुद्ध ‘जूता हान्ने’ धम्की सम्बन्धमा उजुरी दिएका हुन । उनले उजुरीमा जातीय आधारमा गालीगलौज, धम्की र अभद्र भाषा प्रयोग गरेको आरोप लगाएका छन् । एससी–एसटी एक्ट अन्तर्गत दर्ता गरिएको मुद्दाको विषयमा जाँच शुरु भएको पटना प्रहरीले जनाएको छ।
दुबैजना बीचको फोन संवाद सार्वजनिक भएपछि विवाद चुलिएको हो । सामाजिक सञ्जालमा भाइरल भएको उक्त अडियोमा विधायकले सचिवलाई ‘जूता हान्ने’ धम्की दिएको सुन्न सकिन्छ।
सचिव संदीप कुमार हाल मनेर प्रखंड अन्तर्गत बलुआ पंचायतमा कार्यरत छन् र सराय पंचायतको पनि अतिरिक्त जिम्मेवारी सम्हालिरहेका छन ्। उनले दिएको उजुरी अनुसार, २६ जुलाई साँझ करिब ५ः३० बजे मनेर प्रखंड कार्यालयमा काम गरिरहेका बेला अनजान नम्बरबाट फोन आएको थियो । फोन उठाउँदा सामनेबाट भनियो— “म भाई वीरेंद्र बोल्दै छु।” चिनिन नसकेको भन्दै सचिवले परिचय सोध्दा विधायकले आक्रोशित हुँदै जूता हान्ने शब्द प्रयोग गर्दै धम्की दिन थाले ।
विधायकले रिंकी देवीका नातिको मृत्यु प्रमाणपत्र किन नबनाएको भन्दै कडा भाषा प्रयोग गरेको सचिवको आरोप छ । उनले भने— “म उनीबाट असुरक्षित महसुस गरिरहेको छु । यदि आवश्यक प¥यो भने सुरक्षा माग्न वरिष्ठ अधिकारीसँग भेट गर्नेछु ।”
अडियोमा विधायक र सचिवबीच तीव्र बहस सुन्न सकिन्छ । विधायकले सचिवसँग कडाइपूर्वक बोलेका छन् । सचिवले पनि विधायकसँग शिष्ट ढंगमा परिचय मागेपछि स्थिति तनावपूर्ण बनेको देखिन्छ । अडियोमा भाई वीरेंद्र भन्छन् — “तँ भाई वीरेंद्रलाई नचिन्ने? अनि भन्छस् बोल्नुस ?” जसमा सचिवले जवाफ दिन्छन्— “पहिला तपाईंको परिचय दिनुहोस्, त्यसपछि चिनिन्छ नि ।” बहस लम्बिदै जाँदा वातावरण झनै तातिएको छ ।
पंचायत सचिवको उजुरीपछि एससी–एसटी थानामा मुद्दा दर्ता गरिएको छ। प्रहरी स्रोतका अनुसार, घटना सम्बन्धी अडियो र अन्य प्रमाणहरूको आधारमा छानबिन सुरु भइसकेको छ। आवश्यक परे विधायकलाई सोधपुछका लागि बोलाइने जनाइएको छ।
घटनापछि मनेर क्षेत्र र सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। कतिपयले जनप्रतिनिधिको भाषा र व्यवहारप्रति आपत्ति जनाएका छन् भने केहीले मुद्दा राजनीतिक प्रेरणाले प्रेरित भएको दाबी गरेका छन्।
घटना कहाँ पुग्छ भन्ने हेर्न बाँकी छ, तर हाललाई विधायक विरुद्धको यस्तो कानुनी प्रक्रिया बिहारको राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।






