प्रधानमन्त्रीको स्वागतमा हिडेका दुई मन्त्रीको गाडी आपसमा ठोक्कियो



कैलाली, साउन १३ । प्रधानमन्त्रीको स्वागतमा हिडेका सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी लम्कीमा एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि चिसापानी जाँदै गर्दा उक्त घटना भएको हो।

प्राप्त जानकारी अनुसार, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई प्रदेशका कानूनमन्त्री ही सार्की चढेको अर्को गाडीले ठक्कर दिएको थियो । दुर्घटना लम्की नगरपालिका क्षेत्रभित्रै भएको हो।

प्रहरी स्रोतका अनुसार, ही सार्की सवार से.१झ ३३० नम्बरको गाडीले सुरेन्द्र पाल सवार बा.२झ १४१९ नम्बरको गाडीलाई पछाडिबाट ठक्कर दिएको हो। यद्यपि, गाडीहरूमा सवार सबै व्यक्तिहरू सुरक्षित रहेको र गम्भीर चोटपटक नभएको जानकारी प्राप्त भएको छ।

दुर्घटना भएको समयमा सबैजना प्रधानमन्त्री ओलीको आगमनको तयारीमा चिसापानीतर्फ जाँदै थिए। प्रधानमन्त्री ओली आज कैलालीको जानकी गाउँपालिका–९ मा निर्माण सम्पन्न कटासे हाइड्रोपावर परियोजनाको उद्घाटन गर्न जाने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीको यो भ्रमण सुदूरपश्चिममा विकासको गति बढाउने उद्देश्यले गरिएको हो। उनी कटासे हाइड्रोपावर आयोजनाको उद्घाटनसँगै स्थानीय जनप्रतिनिधि र जनसमुदायसँग संवाद गर्ने कार्यक्रम समेत रहेको छ।

प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलवार १५:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको