रूपक सिंह राजपूत
रेबिज एक अत्यन्तै खतरनाक र लगभग प्राणघातक रोग हो, जुन सामान्यतः संक्रमित जनावर, विशेष गरेर कुकुरको टोकाइ वा यसको थुकको सम्पर्कबाट मानिसमा सर्न सक्छ। यो रोग मस्तिष्कमा असर गर्छ, जसले गर्दा एकपटक रोग सक्रिय भएपछि उपचार लगभग असम्भवजस्तै भइजान्छ। त्यसैले, रेबिजबाट बच्न सतर्कता र रोकथाम अत्यन्तै आवश्यक हुन्छ।
रेबिज संक्रमण रोक्ने मुख्य उपाय हो मानिस र जनावर दुबैको नियमित खोप (Vaccination) गराउनु। विशेषतः जसले कुकुर पाल्नुहुन्छ, तिनले हरेक वर्ष आफ्ना कुकुरलाई रेबिज विरोधी खोप अवश्य लगाउनुपर्छ। साथै, सडकमा घुम्ने आवारा कुकुरहरूलाई पनि स्थानीय प्रशासन वा सम्बन्धित संस्थाद्वारा नियन्त्रणमा लिई खोप अभियान सञ्चालन गर्नु आवश्यक छ।
रेबिज रोगसँग सम्बन्धित जनचेतना फैलाउनु पनि रोकथामको एक महत्वपूर्ण पक्ष हो। विद्यालय, समुदाय, स्वास्थ्य केन्द्र र मिडियाको माध्यमबाट जनतालाई जानकारी दिनु आवश्यक छ कि रेबिज कसरी सर्छ, यसको लक्षणहरू के के हुन्, र कसरी बच्न सकिन्छ।
रेबिजका प्रारम्भिक लक्षणहरूमा ज्वरो, टाउको दुख्ने, कमजोरी, टोकेको स्थानमा पोल्ने वा सुन्निने लक्षण देखिन सक्छन्। यदि रोग बढ्दै जान्छ भने रोगीमा मानसिक भ्रम, पानीसँग डर ९ज्थमचयउजयदष्ब०, शरीरको कम्पन, आक्रोश आदि लक्षण देखिन सक्छन्, जुन अन्ततः मृत्युमा पनि पुग्न सक्छ।
यस्ता अवस्थाबाट बच्नका लागि, कुनै जनावर, विशेषतः कुकुरले टोकेपछि तुरुन्तै साबुन र पानीले घाउ सफा गरी नजिकको स्वास्थ्य केन्द्रमा गई एयकत Post-Exposure Prophylaxis (PEP) खोप लिनु आवश्यक हुन्छ।
बचावका उपायका रूपमा, बालबालिकालाई अपरिचित कुकुरबाट टाढा रहन, कुकुरलाई सताउने वा डराउने व्यवहार नगर्न सिकाउनु पर्छ। यदि कुनै कुकुर असामान्य व्यवहार गरिरहेको छ भने त्यसबाट टाढा रहनुहोस् र तुरुन्तै स्थानीय निकायलाई जानकारी दिनुहोस्।
अन्ततः रेबिज एक गम्भीर रोग भए पनि यदि समयमा खोप लगाइयो, जनचेतना फैलाइयो र आवश्यक सतर्कता अपनाइयो भने यो पूर्ण रूपमा बच्न सकिने रोग हो।
त्यसैले, “रेबिज रोकथामका लागि खोप र जनचेतना जीवन रक्षा गर्ने ग्यारेन्टी हो” भन्ने सन्देश सबैसम्म पुर्याउनु अत्यन्त आवश्यक छ।






