एजेन्सी,
पटना, भदौ ५ । बिहारमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको हिरो एशिया कप हकी प्रतियोगिता आयोजना हुने भएको छ । आगामी २९ अगस्टदेखि ७ सेप्टेम्बरसम्म राजगीरमा यो प्रतिष्ठित खेल हुने तय भएको छ । यस प्रतियोगितामा एशियाली हकीका प्रमुख टिमहरु सहभागी हुनेछन ्। साथै, विजेता टोलीले सिधै हकी विश्वकपमा क्वालिफाइ गर्ने मौका पाउनेछ।
यस ऐतिहासिक आयोजनासँगै बिहारको खेल संस्कृतिलाई नयाँ उचाइमा पु¥याउने प्रयास भइरहेको छ । राज्य सरकार र आयोजक समितिले यस प्रतियोगितालाई युवामा हकीप्रतिको रुचि बढाउने सुनौलो अवसरको रूपमा लिएको छ।
प्रतियोगितामा सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह एमा भारत, जापान, चीन र कजाखस्तान छन भने समूह बी मा मलेशिया, दक्षिण कोरिया, बंगलादेश र चाइनीज ताइपे रहेको छ ।
प्रारम्भिक खेलहरु २९ अगस्टदेखि १ सेप्टेम्बरसम्म हुनेछन्। त्यसपछि क्वालिफाइङ चरणमार्फत सेमिफाइनल तय हुनेछ। अन्तिम खेल अर्थात् फाइनल ७ सेप्टेम्बरमा खेलिनेछ। यस अवधिमा २ र ५ सेप्टेम्बरलाई ‘रेस्ट डे’ राखिएको छ।
एशिया कपको इतिहास हेर्दा अहिलेसम्म सबैभन्दा धेरै ५ पटक दक्षिण कोरिया विजेता बनेको छ। भारत र पाकिस्तानले तीन–तीन पटक उपाधि जितेका छन्। यसपटक भारत घरेलु मैदानमा खिताब जितेर विश्वकपमा सशक्त रुपमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ।
प्रतियोगितालाई व्यापक प्रचार–प्रसार गर्नका लागि १७ अगस्टदेखि ट्रफी गौरव यात्रा सुरु गरिएको छ। यो यात्रा बिहारका सबै जिल्लाहरु हुँदै चेन्नई, चण्डीगढ़, दिल्ली, ओडिशा, असम र झारखण्डमा पु¥याइनेछ। यस यात्राको उद्देश्य युवामा हकीप्रतिको आकर्षण बढाउनु र आम जनताको सहभागिता सुनिश्चित गर्नु रहेको आयोजकले जनाएका छन्। यसै क्रममा प्रतियोगिताको शुभंकर ‘चाँद’ र आधिकारिक ट्रफी अनावरण गरिएको छ।
प्रतियोगिताको प्रारम्भिक खेल तालिका यसप्रकार छः
२९ अगस्ट : मलेशिया बनाम बंगलादेश, कोरिया बनाम चाइनीज ताइपे, जापान बनाम कजाखस्तान, भारत बनाम चीन
३० अगस्ट : बंगलादेश बनाम चाइनीज ताइपे, कोरिया बनाम मलेशिया
३१ अगस्ट : चीन बनाम कजाखस्तान, जापान बनाम भारत
१ सेप्टेम्बर : बंगलादेश बनाम कोरिया, मलेशिया बनाम चाइनीज ताइपे, चीन बनाम जापान, भारत बनाम कजाखस्तान
यस प्रतियोगिताले न केवल एशियाली हकीमा प्रतिस्पर्धा बढाउनेछ, तर बिहारमा खेल संस्कृतिलाई सबल बनाउन पनि महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। राजगीर यस अवधिमा हकी प्रेमीहरुको प्रमुख गन्तव्य बन्नेछ।
राज्यमा यसअघि यति ठूलो अन्तर्राष्ट्रिय हकी प्रतियोगिता कहिल्यै भएको थिएन। यसकारण यो आयोजनालाई ऐतिहासिक मानिएको छ। बिहारका युवामा विशेष उत्साह छ भने सम्पूर्ण देश यस प्रतियोगितातर्फ आँखा गाडेर बसेको छ।
भारतका लागि यो प्रतियोगिता जित्नु सम्मानको कुरा मात्र नभई विश्वकप यात्रा सजिलो बनाउने ठूलो अवसर पनि हुनेछ। यसैले राजगीरमा हुने यो एशिया कपलाई लिएर बिहारमा मात्र होइन, सम्पूर्ण भारतमा उत्साहपूर्ण वातावरण छ।




