एजेन्सी
पटना, असोज ७ । दिल्लीको विशेष अदालतले राष्ट्रिय जनता दल (आरजेडी) का संस्थापक अध्यक्ष लालु प्रसाद यादव र उनको परिवारविरुद्ध चलिरहेको मनी लन्ड्रिङ्ग मुद्दामा दैनिक सुनवाई गर्ने भएको छ । ‘ल्यान्ड फर जोब’ केसको सुनुवाइ आगामी असोज २७ गते (१३ अक्टोबर) देखि दैनिक आधारमा हुनेछ । दिल्लीको राउज एभेन्यु कोर्टले स्पष्ट पारेको छ कि लालु यादव, उनकी पत्नी राबडी देवी, छोरा तेजस्वी र तेजप्रताप यादव, छोरी मीसा भारती र हेमा यादवसमेतको मुद्दाको सुनुवाइ हरेक दिन हुनेछ।
अदालतले सबै आरोपितलाई मुद्दासम्बन्धी कागजातहरू स्पष्ट र पढ्न सक्ने गरी उपलब्ध गराउनुपर्ने आदेश दिएको छ । यसका लागि ईडी, अनुसन्धान अधिकारी र प्रतिवादी पक्षका वकिलहरूले मिलेर अदालतको अभिलेख हेर्ने व्यवस्था गर्नेछन् ।
‘ल्यान्ड फर जोब्स’ घोटालामा लालु प्रसाद यादवमाथि भारतीय रेलमा जागिरको सट्टा जमीन लिएको आरोप छ । यस प्रकरणमा ईडीले पहिले नै आरोपपत्र दायर गरेको थियो र हालै थप आरोपपत्र (सप्लिमेन्ट्री चार्जशीट) पनि दाखिल भएको छ । अदालतको आदेश सेप्टेम्बर २० मा आएको हो र अब असोज २७ गतेदेखि दैनिक सुनुवाइ हुने भएकाले मुद्दा तीव्र गतिमा अघि बढ्ने संकेत देखिएको छ।
के हो ‘ल्यान्ड फर जोब’ घोटाला?
यो प्रकरण सन् २००४ देखि २००९ को बीचमा लालु यादव रेलमन्त्री भएको समयमा मध्य प्रदेशको जबलपुरस्थित भारतीय रेलको पश्चिम मध्य क्षेत्रीय कार्यालयमा भएको ग्रुप ‘डी’ को नियुक्तिसँग सम्बन्धित छ । आरोपअनुसार लालुले मन्त्री हुँदा आफ्ना परिवारका नाममा जागिरको सट्टा विभिन्न व्यक्तिहरूबाट जमीन घुसस्वरूप लिएका थिए। सीबीआईले यस मामिलामा लालुसहित उनको परिवारविरुद्ध मुद्दा दायर गरिसकेको छ। साथै, विज्ञापन नगरी नै धेरैलाई प्रत्यक्ष रूपमा रेलमा ग्रुप ‘डी’ को जागिर दिएको आरोप पनि उनमाथि लागेको छ।






