विशेष महाधिवेशन माग्न कांग्रेसमा जुट्यो ५० प्रतिशत हस्ताक्षर



काठमाडौं , असोज  २४ । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्न ५० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

१४ औं महाधिवेशनका ४७४३ जना महाधिवेशन प्रतिनिधि रहेकोमा त्यसको आधाले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गरेका हुन्।

विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरे कारण खुलाएर विशेष महाधिवेशन माग गर्न सक्छ।

‘विशेष महाधिवेशन माग्न हस्ताक्षर गर्नेहरू ५० प्रतिशत पुगिसके,’ स्रोतले भन्यो, ‘जिल्ला(जिल्लाबाट प्राप्त हस्ताक्षर केन्द्रीकृत गर्ने काम भइरहेको छ।’

विशेष महाधिवेशन माग्न देशैभर हस्ताक्षर अभियान चलेपछि सभापति शेरबहादुर देउवानिकट पार्टी पदाधिकारीहरू दबाबमा छन्।

सभापति देउवानिकट नेताहरूले विशेष महाधिवेशन नभई नियमित महाधिवेशन गर्नुपर्ने बताउन थालेका छन्।

ीबहmष् दबलप
महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्ने प्रयोजनका लागि हस्ताक्षर गर्नुअघिसम्म देउवानिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरू यो केन्द्रीय समितिको म्याद एक वर्षसम्म थप गर्ने गृहकार्यमा थिए।

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेसमा नीति र नेतृत्व परिवर्तनको माग उठेको छ। पार्टी रूपान्तरण नगरेसम्म चुनाव फेस गर्न गाह्रो हुने नेताहरूको भनाइ छ।

ल्अभिि
अहिले जिल्ला(जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आएर हस्ताक्षर बुझाउने काम गरिरहेका छन्।

कांग्रेस गोरखाले पनि आज विशेष महाधिवेशन प्रयोजनका लागि हस्ताक्षर बुझाएको छ।

सभापति नन्दप्रसाद न्यौपानेले गोरखाका ५१ जना महाधिवेशन प्रतिनिधिमध्ये ४२ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको जानकारी दिए।

‘५१ जनामध्ये ४२ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गर्नुभएको छ, हामीले यो हस्ताक्षर सम्बन्धित ठाउँमा बुझाइसकेका छौं, पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ,’ उनले भने, ‘नियमित महाधिवेशन भए राम्रो हुन्छ। यदि नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन गरिहाल्नुपर्छ भन्ने हाम्रो माग हो।’

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला पक्षका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर अभियान चलाएका हुन्। विशेष महाधिवेशनका पक्षमा नेता शेखरले मुख नखोल्दा उनीनिकट महाधिवेशन प्रतिनिधिहरू भने बाँडिएका छन्( कसैले हस्ताक्षर गरेका छन् त कसैले हस्ताक्षर गरेका छैनन्।

महामन्त्री थापा र शर्मानिकट महाधिवेशन प्रतिनिधिहरूले नेता शेखर कोइराला पक्षका महाधिवेशन प्रतिनिधिहरूको पूरा साथ र सहयोग नपाइएको गुनासो गरेका छन्। नेता शेखर भने नियमित महाधिवेशन पक्षमा छन्।

महामन्त्रीद्वय थापा र शर्मा पनि मंसिरमै नियमित महाधिवेशनका पक्षमा छन्। तर मंसिरमा नियमित महाधिवेशन गर्न सभापति देउवा पक्ष तयार नभएका खण्डमा विशेष महाधिवेशन गर्ने पक्षमा महामन्त्रीद्वय छन्।

‘विशेष महाधिवेशन बोलाउन गरिएको हस्ताक्षरको बलले देउवा पक्ष नियमित महाधिवेशन गर्न सकिन्छ भन्नेमा आइपुगेको छ,’ एक पदाधिकारीले भने, ‘नियमित महाधिवेशन मंसिरभित्रै गर्न तयार नहुने हो भने विशेष महाधिवेशनतर्फ पार्टी अघि बढ्छ, हस्ताक्षर ५० प्रतिशत पुगिसकेको छ।’

बिहीबारको पदाधिकारी बैठकमा सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरीले मंसिरमा नियमित महाधिवेशन गर्न समय अभाव हुने कुरा राखेका थिए।

पूर्वउपसभापति विमलेन्द्र निधिले मंसिरमा नियमित वा विशेष महाधिवेशनभन्दा पनि फागुनको चुनावमा पार्टी होमिनुपर्ने कुरा राखेका थिए।

तर संस्थापनइतर पक्ष भने यही नेतृत्व लिएर चुनावमा भोट माग्न जनतासामु जान नसकिने निष्कर्षमा पुगेको छ।

असोज २६ देखि सुरू हुने केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी छ। महामन्त्री गगन थापाले यो केन्द्रीय समितिको म्याद थप गर्ने प्रस्ताव आफूले केन्द्रीय समितिमा नलैजाने बताएका छन्।

२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवाले ६०, नेता शेखर कोइरालाले ४० प्रतिशत र महामन्त्री पदमा गगन थापाले ६४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मत पाएका थिए।

 

प्रकाशित मिति: २०८२ आश्विन २४, शुक्रबार १४:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको