ओखलढुङ्गा, कात्तिक २५ । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सेलस्थित श्री स्वर्णान्तराल आधारभूत विद्यालयको नयाँ भवन निर्माण कार्यको शिलान्यास आज अनलाइन समारोहमार्फत सम्पन्न गरिएको छ।
यस विद्यालय भवनको निर्माण कार्य भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत भइरहेको हो। परियोजनाअन्तर्गत कक्षाकोठा, छात्र तथा छात्राका लागि छुट्टाछुट्टै शौचालयसहितको साढे तीन तले भवन निर्माण गरिनेछ।
भारत सरकारको अनुदान सहयोगमा निर्माणाधीन यो भवन शिक्षा क्षेत्रमा पहुँच विस्तार र गुणस्तर सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सन् २००३ देखि भारत सरकारले नेपालमा ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरिसकेको छ। यीमध्ये कोशी प्रदेशमा मात्रै ९३ परियोजना सञ्चालनमा छन्, जसमा ओखलढुङ्गा जिल्लाका पाँच परियोजना समावेश छन्। साथै, भारत सरकारले कोशी प्रदेशका स्वास्थ्य र शिक्षा क्षेत्रका संस्थाहरूलाई १५० वटा एम्बुलेन्स र ६२ वटा स्कूल बस उपहार प्रदान गरेको छ, जसमा ओखलढुङ्गाका चार एम्बुलेन्स पनि पर्छन्।
उच्च प्रभाव सामुदायिक विकास परियोजना भारत र नेपालबीचको बहुआयामिक विकास साझेदारीको अभिन्न अंग मानिन्छ, जसले दुबै देशबीचको मैत्रीपूर्ण सम्बन्ध र जनस्तरको सहकार्यलाई अझ सुदृढ बनाएको छ।






