चितवन, कात्तिक २९ । जेनजी आन्दोलन क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गर्ने २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार, फोटो र भिडियो प्रमाणका आधारमा पक्राउ परेका मध्ये १२ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने १६ जनालाई हिरासतमै राखेर अनुसन्धान भइरहेको छ।
पक्राउ परेकामध्ये केही व्यक्तिहरूले पहिले पनि विभिन्न अपराधमा जेल भोगिसकेका छन्। सातजनाले अदालतबाट सजाय भोगिसकेका छन् भने केहीलाई ज्यान मार्ने कसुर, लागुऔषध तस्करी, अभद्र व्यवहारजस्ता मुद्दामा सजाय भोगिसकेको तथ्य पाइएको छ।
एसपी पुरीले भने, “बैंकका एटीएम फोड्ने, सरकारी कार्यालयमा आगजनी गर्ने, भिडलाई उक्साउने, प्रहरीमाथि अभद्र व्यवहार गर्ने र हतियार खोस्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिने प्रक्रिया तीव्र बनाइँदैछ।”
उनीहरूले भदौ २४ गते जिल्ला प्रशासन कार्यालय, मालपोत, आन्तरिक राजस्व, अदालत, सरकारी वकिल कार्यालय, पूर्वाधार कार्यालयसहित दर्जनौं सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए। माडी नगरपालिका बाहेक चितवनका सबै स्थानीय तहमा घटना भएको थियो।
प्रहरीले पत्ता लागेको जो कोहीलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाउने प्रतिबद्धता जनाएको छ। यसैबीच, जेनजी आन्दोलनपछि समाजमा आतंक फैलाउने, मोटरसाइकलको स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्ने पाँचजनासहित ६१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। मोटरसाइकल मोडिफाइ गर्ने तीन वर्कसप संचालक पनि पक्राउ परेका छन्।






