कुलमान घिसिङको उज्यालो नेपाल पार्टी चुनावी तयारीमा सक्रिय, वार्ता र घोषणापत्र लेखन समिति गठन



काठमाडौं, मंसिर २ । आगामी प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा उज्यालो नेपाल (उनेपा) पार्टीले व्यापक राजनीतिक एकता र संगठन विस्तारका लागि दुई महत्वपूर्ण समिति गठन गरेको छ। निर्वाचन प्रयोजनसहित गठित अन्तरिम सरकारका ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको संरक्षकत्वमा बसेको केन्द्रीय समितिको बैठकले वार्ता समिति र घोषणापत्र लेखन समिति गठन गरेको हो।

उनेपाका केन्द्रीय सदस्य शंकर ढकालका अनुसार वार्ता समिति विभिन्न दल, समूह र स्वतन्त्र व्यक्तिहरूसँग एकता तथा सहकार्यको सम्भावना खोज्ने उद्देश्यले गठन गरिएको हो।
वार्ता समितिमा तारा जोशी (स्वतन्त्र सांसद, सुदूरपश्चिम), अभिनेत्री रीमा विश्वकर्मा र निर्देशक निर्देश सिलवाल सदस्य रहेका छन्।



त्यसैगरी शंकर ढकाल, घनश्याम पाण्डे, तेजनारायण यादव र किरण विक आमन्त्रित सदस्यका रूपमा समावेश छन्। समितिले विवेकशील–साझा, नयाँ शक्ति, राष्ट्रिय विकास पार्टी तथा विभिन्न स्वतन्त्र अभियन्ता समूहसँग प्रारम्भिक छलफल अघि बढाउने तयारी गरेको छ।

उनेपाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै घोषणापत्र लेखन समिति पनि गठन गरेको छ। यस समितिमा विविध पृष्ठभूमिका विज्ञ, व्यवसायी, प्राध्यापक र पेशेवरहरू समावेश छन्।
समितिका सदस्यहरूमा शंकर ढकाल (विज्ञान, प्रविधि, पूर्वाधार) , महेन्द्र लावती (अन्तर्राष्ट्रिय सम्बन्ध) , तारा जोशी (सांसद) , प्रतिमा शर्मा (महिला तथा समावेशिता) ,आशुतोष विजय पन्त (चिकित्सक) , लाक्पा फुटी शेर्पा (पर्यटन व्यवसायी) , अरबिन्द शाह (आईटी विज्ञ) , डा. सागर ढकाल (वातावरण विज्ञ) ,
ज्योत्सना सैंजु (होटल व्यवसायी) श्रीराम गुरुङ (मिडिया व्यवसायी) , किरण विक (जेन–जी अभियन्ता) , संजीव भट्टराई (नीति तथा प्रशासन विज्ञ) ,का साथै मुक्तसिंह लामा, राजु थापा र कुसुम घिमिरेलाई आमन्त्रित सदस्य राखिएको छ।

उनेपा निर्वाचन आयोगमा दर्ता भइसकेको छ र यसको चुनाव चिह्न बलिरहेको बिजुलीको चिम हो। पार्टीले अब चाँडै नै संगठन विस्तार, राजनीतिक एकता र चुनावी एजेन्डा सार्वजनिक गर्ने बताइएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २, मंगलवार ०८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको