ओम प्रकाश यादव
रौतहट, मंसिर ११ । जेनजी आन्दोलनसँग जोडिएका युवाहरूलाई तोडफोड, आगजनी र आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाएपछि नेकपा एमाले नेता महेश बस्नेत र जेनजी अभियन्ता विकेश साहबीच सामाजिक सञ्जालमा तीव्र आरोप–प्रत्यारोप सुरू भएको छ।
बस्नेतले सामाजिक सञ्जालमार्फत जेनजी समूह “उक्साहट, तोडफोड र अराजक गतिविधिमा संलग्न रहेको” अभिव्यक्ति दिँदै केही भिडियोहरूलाई आधार बनाउने दाबी गरेका थिए।
उनका यस्ता टिप्पणीले सामाजिक प्लेटफर्ममा व्यापक बहस र प्रतिक्रिया सिर्जना गरिरहेको छ।
बस्नेतका अभिव्यक्तिपछि जेनजी अभियन्ता विकेश साहले सामाजिक सञ्जालमै कडा तर व्यवस्थित प्रतिवाद गरेका छन्।
उनले लेखेका छन्, “महेश बस्नेतज्यू, तपाईँहरू जस्तो लुट, भ्रष्टाचार र सत्ता, आधारित दुराचार हाम्रो पहिचान होइन। हामी जेनजीहरू शान्तिपूर्ण आन्दोलनमार्फत देशमा सकारात्मक परिवर्तन खोजिरहेका युवाहरू हौँ। षड्यन्त्र र हिंसात्मक गतिविधि हाम्रो संस्कृतिमा छैन।”
उनले अगाड़ी भने, “हामी आन्दोलन गर्छौँ, तर राज्य र नागरिकविरुद्ध अपराध गर्ने काममा कहिल्यै विश्वास गर्दैनौँ। झूटो आरोप पनि अपराध नै हो भन्ने कुरा बस्नेतज्यूले बुझ्न जरुरी छ।”
साहले बस्नेतले लगाएका आरोपलाई “पूर्णतया झूटा, प्रमाणविहीन र राजनीतिक रूपमा प्रेरित दाबी” भन्दै चुनौती पनि दिए।
उनले थपे, “आजको सीसी क्यामरा र भिडियोको युगमा भ्रम फैलाएर राजनीति गर्न सकिँदैन। यदि तोडफोड वा आगजनीमा हाम्रो संलग्नता छ भने प्रमाण सार्वजनिक गर्नुस्। प्रमाणित गर्न नसकिए सार्वजनिक रूपमा माफी माग्नुस्।”
जेनजी समूहका अन्य अभियन्ताहरूले पनि सोशल मिडियामार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, “हामी कानूनसम्मत, शान्तिपूर्ण आन्दोलनमा संगठित युवाहरू हौँ। यस्ता मनगढन्ते आरोपहरूले सत्यभन्दा भ्रमको राजनीति प्रोत्साहित गर्छ। प्रमाणबिना कोहीमाथि अपराधीको छाप लगाउनु आफैँमा आपराधिक कृत्य हो।”
समूहले बस्नेतले उठाएको विषयमा स्पष्ट प्रमाण नआएसम्म आरोपलाई “चरित्रहत्या गर्ने प्रयास” भन्दै सचेत रहन नागरिकलाई आग्रह गरेको छ।
पछिल्लो समय जेनजी आन्दोलनले देशभर युवा परिचालन र शान्तिपूर्ण विरोधका क्रियाकलाप बढाएको छ। यही सन्दर्भमा केही घटनालाई आधार बनाएर बस्नेतले समूहमाथि आपराधिक गतिविधिको आरोप लगाएका थिए।
त्यसपछि विकेश साह र बस्नेतबीच सामाजिक सञ्जालमै खुला बहस, टिप्पणी र प्रतिकृयाको शृङ्खला चलिरहेको छ।






