एमाले नेताहरूलाई नेकपामा आउन झलनाथ खनालको आग्रह



सुर्खेत, मंसिर २७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेता–कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन्। सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका हुन्।

उनले कम्युनिस्ट आन्दोलन विभाजन भएर अघि बढ्न नसक्ने उल्लेख गर्दै एमालेका नेताहरूलाई पनि एकताको मूल प्रवाहमा आउन आह्वान गरे। “एमालेका साथीहरू, तपाईंहरूको बाटो पनि यही हो, अर्को कुनै विकल्प छैन,” खनालले भने, “हामी सबै मिलेर एउटै कम्युनिस्ट पार्टी निर्माण गरौँ। एउटै देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुन सक्दैनन्।”



खनालले विगतमा विभिन्न धार र समूह जोडिँदै हिँडे पनि अबको मार्गदर्शन माक्र्सवाद–लेनिनवाद नै भएको स्पष्ट पारे। पार्टीको मुख्य विशेषता ‘नेपाली विशेषताको समाजवाद’ रहेको उल्लेख गर्दै उनले सबै कम्युनिस्टहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

“अहिले एमालेको महाधिवेशन भइरहेको छ,” उनले भने, “त्यहाँ सहभागी भएका साथीहरूलाई पनि म आग्रह गर्न चाहन्छु—आउनुहोस्, यो मूल प्रवाहमा सामेल भएर अघि बढौँ।”

उनले नेपालका सबै कम्युनिस्ट पार्टीहरू एक भएर राष्ट्रिय स्तरमै एउटा अपराजित शक्ति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। “अब टुटेर–फुटेर होइन, स्पष्ट नीति, कार्यदिशा र मापदण्डका आधारमा एकजुट भएर अघि बढ्नुपर्छ,” खनालले भने।

सम्बोधनका क्रममा खनालले मुलुकमा विदेशी हस्तक्षेप बढ्दै गएको र यसले राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाएको टिप्पणी पनि गरे। जनताले गाँस, बास र कपाससँगै शिक्षा र स्वास्थ्यमा सहज पहुँच पाउने नेपाल निर्माण गर्न समाजवाद अपरिहार्य रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: २०८२ मंसिर २७, शनिबार १६:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको