काठमाडौं, पुस ७ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै जेन–जी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । जेन–जी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले आज बिहानदेखि माइतीघर क्षेत्रमा आन्दोलन सुरु गरेको हो ।
अन्तरिम सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री कार्कीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । विगतमा आफूहरूले उठाएका मागहरू सरकारले बेवास्ता गरेको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ ।
प्रदर्शनस्थलमा जेन–जी आन्दोलनसँग सम्बन्धित विभिन्न समूहका युवाहरूको उपस्थिति देखिएको छ । माइतीघर क्षेत्रमा डा। निकोलस भुसाल नेतृत्वको समूह पनि सहभागी भएको बताइएको छ । प्रदर्शनकारीहरूले सुशासन, जवाफदेहिता र युवाका मागलाई प्राथमिकतामा राख्न सरकार असफल भएको आरोप लगाएका छन् ।
प्रदर्शनका कारण माइतीघर, थापाथली, बबरमहललगायत आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । सम्भावित अशान्ति रोक्न माइतीघर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

आन्दोलन चर्किंदै गएपछि प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरेको छ । सो क्रममा डा। निकोलस भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । नियन्त्रणमा लिइएकाहरूको संख्या र अवस्था बारे थप विवरण आउन बाँकी छ ।
जेन–जी आन्दोलनकारीहरूले शान्तिपूर्ण ढंगले आफ्ना माग राख्न पाउनुपर्ने भन्दै प्रहरी हस्तक्षेपको विरोध पनि गरेका छन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
माइतीघरमा जारी प्रदर्शनले राजधानीको राजनीतिक वातावरण थप तातिएको छ । सरकार र आन्दोलनकारीबीच संवादको पहल नहुँदा अवस्था थप जटिल हुन सक्ने देखिएको छ ।







