विद्यार्थीको अध्यक्ष हुन नपाएका युवाहरू महाधिवेशन प्रतिनिधि हुँदै केन्द्रीय सदस्यको तयारीमा



काठमाडौं , मंसिर १४ । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्यूत गरेको थियो । सत्ताच्यूत भएको एमालेको यही २७ मंसिरबाट सुरु हुने ११औँ महाधिवेशन मा ४० वर्षमुनिका युवालाई कोटा छुट्याएर महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ ।

२७ देखि २९ मंसिरसम्म आयोजना हुने ११औँ महाधिवेशनका लागि एमालेले देशैभरिबाट प्रतिनिधि चयन गरेको छ । अपवादबाहेक अधिकांश जिल्लाबाट प्रतिनिधि चयन भइसकेका छन् ।



एमालेले सबै निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका एक जना युवा प्रतिनिधिको सहभागिता सुनिश्चित गरेको छ । त्यहीअनुसार महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवाहरू हरेक निर्वाचन क्षेत्रबाट कहीँ सर्वसम्मत त कहीँ प्रतिस्पर्धाबाट चयन भएका छन् ।

एमालेले यसपटकबाट आफ्नो भ्रातृ संगठन अनेरास्ववियुमा उमेरहद लगाएको थियो । उमेरहद लगाउँदा अध्यक्षका आकांक्षी रहेका धेरै विद्यार्थी नेताहरू भूगोलको राजनीतिमा सक्रिय भएका थिए ।

अध्यक्षका आकांक्षी रहेका तर उमेरहदका कारण संगठनबाट बाहिरिएका तत्कालीन उपाध्यक्ष नारायण घर्ती जाजरकोटबाट युवा उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।

एउटा मात्र निर्वाचन क्षेत्र भएको जाजरकोट जिल्लाबाट युवा कोटामा घर्ती सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।

त्यस्तै, उमेरहदका कारण विद्यार्थी संगठनबाट बाहिरिएका तत्कालीन महासचिव नरेश रोकाया बाजुराबाट युवा उमेर समूहमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

रोकाया पनि अनेरास्ववियुको अध्यक्षका लागि तयारीमा थिए । तर, उमेरहद लगाएपछि उनी विद्यार्थी संगठनबाट बिदा भएर पार्टीको भूगोलमा जोडिएका थिए ।

बाजुराबाट सर्वसम्मत भएका रोकाया महाधिवेशनमार्फत पार्टी राजनीतिमा होमिने तयारी गरेका छन् । उमेरहदका कारण विद्यार्थीको उपाध्यक्षबाट नै बाहिरिएका गोविन्द गिरी बैतडीबाट ४० वर्षमुनिको युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

अनेरास्ववियुका पूर्वउपाध्यक्ष गिरी विद्यार्थीबाट बिदा भएपछि बैतडीबाट पार्टी राजनीतिमा सक्रिय थिए । उनी ११औँ महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।

विद्यार्थीको अध्यक्षका लागि तयारी गरेका गिरी पनि घर्ती मगर र रोकायाजस्तै उमेरहदका कारण संगठनबाट बिदा भएका थिए । त्यस्तै, अनेरास्ववीयुका उपाध्यक्ष धर्मराज गिरी युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट ४० वर्षमुनिको क्लस्टरबाट प्रतिनिधि चयन भएका छन् ।

घर्ती, गिरी र रोकाया महाधिवेशनबाट केन्द्रीय सदस्य हुने तयारीमा पनि लागेका छन् ।

 

प्रकाशित मिति: २०८२ मंसिर १४, आईतवार १४:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको