काठमाडौं, पुस १६ । पश्चिम अफ्रिकी देश माली र बुर्किना फासोले अमेरिकी नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ती देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएपछि त्यसको प्रतिकारस्वरूप दुवै देशले यस्तो निर्णय गरेका हुन्।
बेलायती सञ्चार माध्यम गार्डियन का अनुसार माली र बुर्किना फासोका विदेशमन्त्रीहरूले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै अमेरिकी नागरिकमाथि प्रवेश प्रतिबन्ध लागू गर्ने जानकारी दिएका हुन्। पछिल्लो समय पश्चिम अफ्रिकाका सैन्य सरकार र अमेरिकाबीचको सम्बन्ध चिसिँदै गएको सन्दर्भमा यो कदमलाई कूटनीतिक जवाफका रूपमा हेरिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गत डिसेम्बर १६ मा पहिले लागू गरिएको यात्रा प्रतिबन्धलाई विस्तार गर्दै माली, बुर्किना फासो, नाइजरसहित थप २० देशलाई प्रतिबन्धको सूचीमा समावेश गरेका थिए। ती देशहरू हाल सैन्य शासनअन्तर्गत रहेका छन् र पश्चिम अफ्रिकी राष्ट्रहरूको आर्थिक समुदाय (भ्ऋइध्ब्क्) बाट अलग हुँदै छुट्टै क्षेत्रीय समूह गठन गरेका छन्।
मालीको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ‘पारस्परिकताको सिद्धान्त’ अनुसार अमेरिकी नागरिकलाई पनि माली नागरिकमाथि अमेरिकाले लगाएको जस्तै सर्त लागू गरिने उल्लेख गरिएको छ। यस्तै, बुर्किना फासोका विदेशमन्त्री करामोको जिन–मारी ट्राओरेले हस्ताक्षर गरेको विज्ञप्तिमा पनि अमेरिकी नागरिकमाथि प्रवेश प्रतिबन्ध लागू गरिएको स्पष्ट गरिएको छ।
अमेरिकी ह्वाइट हाउसले भने सुरक्षा अवस्थालाई यात्रा प्रतिबन्धको मुख्य कारण बताएको छ। ह्वाइट हाउसका अनुसार ती देशहरूमा सशस्त्र समूहको निरन्तर आक्रमण, कमजोर सुरक्षा संयन्त्र र पर्याप्त सूचना आदानप्रदानको अभावका कारण प्रतिबन्ध आवश्यक भएको हो। साथै, नोभेम्बर २६ मा वासिङ्टन डिसीमा दुई नेसनल गार्डमाथि भएको गोलीकाण्डलाई उदाहरण दिँदै अवैध आप्रवासन नियन्त्रण कडा पार्नुपर्ने तर्क गरिएको छ।
माली र बुर्किना फासो दुवै देश लामो समयदेखि सशस्त्र विद्रोही समूहको हिंसाबाट प्रभावित छन्। सैन्य शासनमा रहेका नेताहरूले सुरक्षा र स्थायित्व पुनःस्थापना गर्ने प्रतिबद्धता जनाउँदै विद्रोही समूहविरुद्धको कारबाही जारी राख्ने बताएका छन्।






