काठमाडौं, पुस २१ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काठमाडौंको जमलमा पत्रकारहरूसँग संवाद गर्दै पार्टीको विशेष महाधिवेशन, १५औँ महाधिवेशन र आगामी चुनावबारे स्पष्टता दिएका छन्।
सिटौलाका अनुसार विशेष महाधिवेशन हुँदैन। उनले भने, “मलाई थाहा छैन केही विकल्पबारे, तर विशेष महाधिवेशन हुँदैन।” केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार अहिलेको परिस्थितिमा विशेष महाधिवेशनको औचित्य छैन। पुसमा महाधिवेशन नहुनुमा क्रियाशील सदस्यता टुंगो नलाग्नु मुख्य कारण हो।
सिटौलाले राष्ट्रिय सभामा कांग्रेसको रणनीतिक तालमेललाई गठबन्धन भन्न नहुने स्पष्ट पारे। उनले थपे, “प्रतिनिधि सभामा कांग्रेस एक्लै चुनाव लड्ने छ।”
पत्रकारहरूको प्रश्नमा सिटौलाले महामन्त्रीहरूको फरक मतबारे पनि टिप्पणी गरे। उनले भने, “महामन्त्रीहरूले सर्वसम्मत विशेष महाधिवेशन चाहन्थे, तर बहुमतले आवश्यक नभएको निर्णय गरे। उहाँहरूले उक्त निर्णय कार्यान्वयन गर्नु पर्छ।” विधानको धारा १७ को २ अनुसार विशेष महाधिवेशनको माग भए पनि अन्तिम निर्णय पार्टीको संस्था र केन्द्रीय समिति वा कार्यसम्पादन समितिको हो।
सिटौलाले पार्टीमा कुनै फुट्ने खतरा नभएको र पार्टी एकताबद्ध रहेको पनि दोहोर्याए। उनले भने, “कांग्रेस कमजोर गर्ने कुनै योजना पूरा हुन दिँदैनौं। पार्टी सामूहिक पद्दतीमा चल्छ, एक्लो कोही अघि बढ्न सक्दैन।”
यसैगरी उनले आगामी प्रधानमन्त्री उम्मेदवारको विषयमा पनि स्पष्ट पार्दै भने, “हाम्रो पद्धति छ— जितेर आउने संसदीय दलले नेता चयन गर्छ, त्यसैले हामीले कसैसँग छलफल गरी उम्मेदवारी तय गरेका छैनौं।”
सिटौलाले कांग्रेसभित्र युवाहरूको भूमिका सकारात्मक रहेको र पार्टीको निर्वाचन तयारीमा उनीहरूको सक्रियता महत्वपूर्ण रहेको बताएका छन्।
अन्ततः, सिटौलाले विशेष महाधिवेशनलाई लिएर चलिरहेको बहसको जवाफ दिँदै पार्टी एकताबद्ध र निर्वाचनमा तयारी अवस्थामा रहेको स्पष्ट पारे।






