काठमाडौँ, पुस २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र उज्यालो नेपाल पार्टी (उनेपा) बीच १२ दिनअघि सुरु भएको पार्टी एकता प्रयास असफल भएको छ। पुस १४ गते सुरू भएको सहकार्य विभिन्न चरणको छलफलपछि पनि टिक्न सकेन र दुबै दल आ–आफ्नै ढङ्गले अघि बढ्ने तयारीमा छन्।
रास्वपाका अनुसार उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले प्रधानमन्त्री सरहको पदसहित आफ्ना वरिष्ठ नेता, पदाधिकारी र केन्द्रीय सदस्यको समायोजन गर्नुपर्ने सर्त राखेका थिए। साथै समानुपातिक उम्मेदवारको बन्दसूचीको पहिलो स्थान कुलमान पक्षले पाउनुपर्ने अडान राखेपछि सहमति भंग भएको रास्वपाले जनाएको छ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार उज्यालो नेपाल पक्षले पदाधिकारीमा थप तीन पद, वरिष्ठ उपसभापति कुलमान र एक महामन्त्री समावेश गर्नुपर्ने माग गरेको थियो। रास्वपाले यी माग स्वीकार गर्न नसकेको कारण सहकार्य टुटेको हो। रास्वपा सभापति रवि लामिछानेले पनि आफ्नो केन्द्रीय सचिवालय बैठकमा उक्त सहमति खारेज गर्ने निर्णय गरेका छन्।
यता उज्यालो नेपाल पार्टीका नेताहरूले भने रास्वपाले संघीयता, धर्मनिरपेक्षता र समावेशीकरण जस्ता महत्वपूर्ण विषयमा स्पष्ट नदेखाएकोले एकता भंग भएको बताएका छन्। कुलमान निकट गणेश घिसिङले भने, “मूल विषय संघीयता, धर्मनिरपेक्षता र समावेशीताका हुन्, अन्य विषय गौण हुन्।”
स्रोतका अनुसार अब उज्यालो नेपाल पार्टीले पुस २८ अघि समानुपातिक उम्मेदवार सूची संशोधन गर्ने र प्रत्यक्षतर्फका उम्मेदवार आफ्नै ढङ्गले तोक्ने तयारीमा छ।
यो असफल प्रयासपछि रास्वपा, कुलमान र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई एउटै पार्टीबाट चुनाव लडाउने योजना पनि प्रभावित भएको छ। विगतमा नेपाल पार्टीका सुदन गुरुङले मिलाएर सहकार्य गराउने प्रयास गरे पनि कार्यान्वयनमा ढिलाइ र असहमति देखिँदा सहकार्य स्थायी बन्न सकेन।






