काठमाडौं, पुस २८ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देशको वर्तमान राजनीति अन्योल र अनिश्चितताले ग्रसित रहेको उल्लेख गर्दै पार्टीभित्र पूर्ण एकता कायम गर्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा खड्काले सार्वजनिक अपिलमार्फत २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीतिमा आवश्यक परिमार्जन गर्दै नेतृत्व सहज रूपमा परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको बताएका छन् । उनले प्रतिनिधिसभा निर्वाचन र १५औँ महाधिवेशनलाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।
पार्टीभित्र हाल केही असहजता र अन्योलको स्थिति देखिएको स्वीकार गर्दै खड्काले इतिहासका विभिन्न कालखण्डमा जस्तै अहिले पनि देशलाई निकास दिने जिम्मेवारी नेपाली कांग्रेसकै काँधमा रहेको बताए । “यस अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुनु अपरिहार्य छ,” खड्काले भने ।
कार्यवाहक सभापति खड्काले पार्टी एकतामा नकारात्मक असर पर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आग्रह गरेका छन् । आपसी मतभेदलाई संवाद र सहमतिबाट समाधान गर्दै संगठनलाई बलियो बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।
विशेष महाधिवेशनको बन्दसत्रमार्फत पार्टीको भावी दिशा तय हुने भन्दै खड्काले नेता–कार्यकर्तालाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न पनि अपिल गरेका छन् । पार्टीलाई आगामी चुनौती सामना गर्न सक्षम बनाउने एकमात्र उपाय एकता र संगठन सुदृढीकरण रहेको उनले उल्लेख गरे ।






