जनकपुरधाम, माघ १ । महोत्तरी जिल्लाको वलवा नगरपालिका आज देखि आफ्नै प्रशासनिक भवनमा सरेको छ । बलवा नगरपालिकाका मेयर राम विजय महतोले एक कार्यक्रमका बीच सो प्रशासनिक भवनको समुदघाटन गरेका छन् ।
बलवा नगरपालिका यस भन्दा पूर्व तत्कालिन बलवा गाविस तथा भाडाको भवनमा सञ्चालन हुँदै आएको थियो । बलवा नगरपालिकाका मेयर महतोको अथक प्रयासले आज देखि नियमित प्रशासनिक भवनवाट सेवा सुविधा प्रदान हुने भएको छ ।
बलवा नगरपालिकाको प्रशासनिक भवन समुदघाटन गर्दै मेयर महतोले जनतालाई सर्व सुलभ सेवा प्रदान गर्नु आफ्नो पहिलो उत्तरदायित्व रहेको बताएका थिए । उनले जनतालाई सहज रुपमा सेवा सुविधा प्रदान गर्नकालागि स्थानीय सरकार गठन भएको बताउँदै भवनको अभावमा बलवा नगरपालिकाले बार्षिक लाखौं रुपैयाँ खर्चे पनि जनता एक ठाउँमा सेवा पाउनमा कठिनाई भोग्नु परेको बताए ।
आज देखि बलवा नगरपालिकाको प्रशासनिक भवनमा एक्कै ठाउँमा शाखाहरुवाट सेवा प्रभाह हुने भए पछि आम जनतामा सहजता आउने उनले दावी गरे । एउटा शाखाको कामकालागि यतावाट उता र उतावाट यता दगुर्नुपर्ने बाध्यताको आजवाट अन्त्य भएको मेयर महतोले टिप्पणी गरे ।
तीन तहको सरकार रहे पनि स्थानीय सरकार जनता संग प्रत्यक्ष सम्वन्ध राख्ने सरकार रहेका कारण आम जनतालाई सहज रुपमा सेवा प्रदान गर्न सक्दो प्रयासरत्त रहेको उनको भनाई थियो ।
कार्यक्रममा मनरा सिसवा नगरपालिकाका मेयर मोहन पाण्डे, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायत स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।







