सुदूरपश्चिममा १६ प्रतिनिधिसभा सदस्यका लागि २०९ जनाको उम्मेदवारी



धनगढी,माद्य ७ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा २०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेमराज भट्टका अनुसार सबैभन्दा बढी उम्मेदवारी कैलाली जिल्लामा परेको छ । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा कुल ७८ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. १ मा १९ जना, क्षेत्र नं. ३ मा ११ जना तथा क्षेत्र नं. २, ४ र ५ मा समान १६–१६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।



तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा ५५ जनाले उम्मेदवारी दिएका छन् । कञ्चनपुर क्षेत्र नं. १ र २ मा १९–१९ जना तथा क्षेत्र नं.३ मा १७ जनाले मनोनयन दर्ता गरेका छन् ।

यसैगरी अछाम जिल्लामा क्षेत्र नं. १ मा ७ र क्षेत्र नं. २ मा ९ गरी कुल १६ जनाले उम्मेदवारी दिएका छन् । एक–एक निर्वाचन क्षेत्र रहेका जिल्लामध्ये डडेल्धुरामा १३, बैतडीमा १२, दार्चुलामा ११, डोटीमा ९, बाजुरामा ८ र बझाङमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशभरका सबै १६ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले उम्मेदवार उठाएका छन् । मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन प्रशासनले जनाएको छ ।

अब उम्मेदवारको दाबी–विरोध, अन्तिम नामावली प्रकाशन र चुनावी प्रचारप्रसारको चरण सुरु हुने भएको छ । सुदूरपश्चिममा यसपटकको निर्वाचनमा दलगतसँगै स्वतन्त्र उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०८२ माघ ७, बुधबार १२:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको