जनकपुरधाम , माद्य ७ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मधेश प्रदेशका आठै जिल्लामा शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ । मङ्गलबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्ताका क्रममा उम्मेदवारहरूले गणतन्त्रको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, विकास र समृद्धिलाई आफ्नो प्रमुख एजेन्डा बनाएको प्रतिक्रिया दिएका छन् । सुरक्षा व्यवस्था कडा पारिएको थियो भने कुनै अप्रिय घटना नभएको निर्वाचन प्रशासनले जनाएको छ ।
सर्लाहीमा शीर्ष नेताको प्रतिस्पर्धा
सर्लाहीका चारै निर्वाचन क्षेत्रमा शीर्ष नेतासहितका उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिएको छ । कांग्रेस सभापति गगनकुमार थापाले सर्लाही–४ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । सोही क्षेत्रमा रास्वपाबाट डा। अमरेशकुमार सिंह, एमालेबाट अभिनिस यादवसहित विभिन्न दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यसपटक सर्लाहीमा शीर्ष नेताको उपस्थितिले चुनावी माहोल थप तातेको छ ।

धनुषामा १५८ जनाको उम्मेदवारी
धनुषाका चार निर्वाचन क्षेत्रमा गरी १५८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं। ३ मा विमलेन्द्र निधि, मनिष झा, जुलीकुमारी महतोसहित चर्चित नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नं। ४ मा महेन्द्र यादव र रघुवीर महासेठ पुनः आमनेसामने भएका छन् ।
महोत्तरी, सप्तरी र पर्सामा उत्साह
महोत्तरीका चार निर्वाचन क्षेत्रमा ठूलो संख्यामा उम्मेदवारी परेको छ । सप्तरीका चारै क्षेत्रमा दलगत तथा स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थिति देखिएको छ भने पर्साका चार निर्वाचन क्षेत्रमा पनि मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता सकिएसँगै अब उम्मेदवार छनोट, दाबी–विरोध र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ । मधेश प्रदेशमा यसपटकको निर्वाचनलाई चासोका साथ हेरिएको छ ।







