झापामा घरदैलो अभियान तीव्र, पाँचै क्षेत्रमा चुनावी सरगर्मी बढ्दो



बिर्तामोड, माघ १३ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापाका पाँचै निर्वाचन क्षेत्रमा चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । मुख्य राजनीतिक दल, नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर भोट माग्न थालेपछि गाउँ–बस्तीमा चुनावी माहोल थप तातिएको छ ।

झापाका पाँच निर्वाचन क्षेत्रबाट कुल ९० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा कम उम्मेदवारी क्षेत्र नम्बर १ मा १५ जना र सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा २४ जनाले दर्ता गराएका छन् ।



झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा पार्टीबाट प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएका बालेन्द्र शाह उम्मेदवार रहेकाले उक्त क्षेत्रमा देशव्यापी चासो बढेको छ । दुवै उम्मेदवार मत आफ्नो पक्षमा पार्न घरदैलो तथा विभिन्न भेटघाटमा व्यस्त देखिएका छन् ।

यस्तै झापा क्षेत्र नम्बर २ मा एमालेका सभामुख देवराज घिमिरे र रास्वपाकी उपसभामुख इन्दिरा रानामगरबीचको प्रतिस्पर्धाले चुनावी वातावरण थप रोचक बनेको छ । क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार शम्भुप्रसाद ढकालले दैनिक १५ भन्दा बढी स्थानमा कोणसभा तथा घरदैलो अभियान सञ्चालन गरिरहेको बताउनुभयो । टोल समिति गठन गरी जनताका समस्या संकलन गर्ने अभ्यासले यसपटक अभियान प्रभावकारी भएको उहाँको भनाइ छ ।

यसै क्षेत्रमा एमालेका पूर्वसांसद एलपी साँवालिम्बूले निर्वाचन परिचालन समिति गठन गरी घरदैलो अभियानलाई तीव्र बनाउनु भएको छ । भ्रष्टाचाररहित समाज र सुशासन आफ्नो प्रमुख एजेन्डा रहेको उहाँले बताउँदै आउनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पुरुषोत्तम चुँडाल ‘राजु’ ले पनि विभिन्न उपसमिति बनाएर चुनावी मैदानमा उत्रिएको जनाउनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेबेले समेत प्रचारप्रसारलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद बढाइरहनुभएको छ ।

चुनावी गतिविधि बढेसँगै झापामा निर्वाचनको उत्साह र सरगर्मी दिनानुदिन बढ्दै गएको छ ।

प्रकाशित मिति: २०८२ माघ १३, मंगलवार १५:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको