सप्तरीमा दलभन्दा स्वतन्त्र महिलाको उम्मेदवारी बढी



कल्याणपुर , माघ १३ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीका चारै निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी उल्लेख्य देखिए पनि राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी रहेको छ । प्रत्यक्षतर्फ दर्ता भएका १०२ जना उम्मेदवारमध्ये २० जना महिला रहेका छन्, जसमध्ये १३ जना स्वतन्त्र उम्मेदवार हुन् भने सात जना मात्र विभिन्न राजनीतिक दलको टिकटबाट उम्मेदवार बनेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुष्पा चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट टीकालक्ष्मी चौधरी उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर २ मा नेपाल जनता पार्टीबाट पूर्व सांसद रञ्जुकुमारी ठाकुर र नेपाल मजदुर किसान पार्टीबाट नीलमकुमारी यादव चुनावी प्रतिस्पर्धामा छन् । यस्तै क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिस्ट पार्टीबाट रुबीकुमारी कर्ण, जनता समाजवादी पार्टी नेपालबाट बबी सिंह यादव र आमजनता पार्टीबाट अनिताकुमारी चौधरी उम्मेदवार बनेका छन् । तर, निर्वाचन क्षेत्र नम्बर ३ मा कुनै पनि राजनीतिक दलले महिलालाई उम्मेदवार बनाएका छैनन् ।

स्वतन्त्रतर्फ क्षेत्र नम्बर १ बाट रामकुमारी खङ्ग, रिजवाना खातुन र उम्दादेवी सदा उम्मेदवारी दिई चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नम्बर २ बाट अम्बिकादेवी साफी, सुशीलाकुमारी साह र साधना दास स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर ३ मा कौशलकुमारी चौधरी, रजियादेवी सदा, सरिताकुमारी यादव र कोशीलादेवी पासमान स्वतन्त्र उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर ४ बाट प्रेमकुमारी महरा स्वतन्त्र रूपमा चुनावी दौडमा छन् ।

मधेशी आयोगका सदस्य आभासेतु सिंहले राजनीतिक दलहरूले महिलालाई प्रत्यक्ष निर्वाचनमा प्राथमिकता नदिनु सरकारी नीतिगत कमजोरी भएको टिप्पणी गर्नुभयो । प्रत्यक्षतर्फ महिलाका लागि आरक्षित सिट सुनिश्चित नभएसम्म दलहरू महिला उम्मेदवारप्रति उदासीन रहने उहाँको भनाइ छ । “महिलामा आर्थिक अभाव र आत्मविश्वासको कमी हुनुका साथै दलको प्राथमिकतामा नपर्नु मुख्य समस्या हो,” सिंहले भन्नुभयो ।

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले समावेशी लोकतन्त्र र दलका घोषित सिद्धान्तअनुसार महिलालाई अवसर नदिनु चिन्ताजनक भएको बताउनुभयो । सप्तरीमा २०४८ सालपछि प्रतिनिधिसभा निर्वाचनमा हालसम्म दुई पटक मात्रै महिला उम्मेदवार विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार आगामी निर्वाचनका लागि जिल्लामा चार लाख ४६ हजार ४०२ मतदाता रहेका छन्, जसमध्ये महिला मतदाताको संख्या दुई लाख १३ हजार २८३ रहेको छ ।

प्रकाशित मिति: २०८२ माघ १३, मंगलवार १४:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको