सहजा खोलाको पुल निर्माण अलपत्र परेको भन्दै स्थानीय आन्दोलित



सिरहा, माघ २६ । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलाको निर्माणाधीन पुल लामो समयदेखि अलपत्र परेपछि स्थानीयवासी आन्दोलित बनेका छन्। पुल तत्काल निर्माण सम्पन्न गर्न माग गर्दै उनीहरूले सोमबार बिहान पुल नजिकै प्रदर्शन गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका हुन्।

पुल अभावमा बारम्बार दुर्घटना हुँदा सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै प्रदर्शनकारीले प्रहरी, प्रशासन र निर्माण कम्पनीविरुद्ध नाराबाजी गरेका थिए।

स्थानीय दिपेन्द्र यादवले पुल निर्माणमा ढिलाइ हुँदा दैनिकजसो दुर्घटना हुने गरेको र निर्दोष नागरिकले दुःख पाइरहेको बताए। अर्का स्थानीय लक्ष्मी प्रसाद यादवका अनुसार वर्षायाममा बाढी आउँदा आवतजावत पूर्ण रूपमा ठप्प हुने र सर्वसाधारणलाई ठूलो सास्ती हुने गरेको छ।

यस्तै अमित कुमार यादव ले करिब चार वर्षअघि सुरु भएको योजना अझै सम्पन्न नहुनु सरकार र ठेकेदार दुवैको लापरबाही भएको आरोप लगाए।

औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले पुल नहुँदा औरही, बरियारपट्टि, नवराजपुर, अर्नामा तथा सिरहा नगरपालिका क्षेत्रका बासिन्दालाई आवतजावतमा गम्भीर समस्या भइरहेको बताए। पटक–पटक ठेकेदारसँग छलफल भए पनि कामले गति लिन नसकेको उनको भनाइ छ।

२०७९ माघ १५ गते करिब ११ करोड ५४ लाख रुपैयाँ लागतमा सुगम निर्माण सेवा प्रा।लि।, महेन्द्रनगर धनुषाले पुल तथा कल्भर्ट निर्माणको ठेक्का पाएको थियो। सम्झौताअनुसार म्याद सकिएपछि एकपटक थपसमेत भइसकेको छ, तर हालसम्म काम पूरा हुन सकेको छैन।

निर्माण कम्पनीले करिब ४ करोड ४८ लाख रुपैयाँ भुक्तानी लिइसकेको भए पनि भौतिक प्रगति जम्मा ३९ प्रतिशत मात्र रहेको छ। दरैयामा बन्ने बक्स कल्भर्टको काम भने सुरु नै नभएको जनाइएको छ।

हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्ण कुमार महतोले ठेकेदार हाल सम्पर्कविहीन रहेको बताए। उनले एक साताभित्र सम्पर्कमा आएर काम सुरु नगरे ठेक्का तोड्ने प्रक्रिया अघि बढाइने चेतावनी दिए।

सिरहामा हुलाकी सडक अन्तर्गत रहेका पाँच योजनामध्ये हाल लगदीगढियानी सडकको काम मात्र अघि बढेको छ। अन्य योजनाहरू कहिले सुरु हुने भन्ने अझै अन्योलमै रहेको छ।

प्रकाशित मिति: २०८२ माघ २६, सोमबार १०:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको