महाशिवरात्रीको तयारी अन्तिम चरणमा, पशुपतिनाथ मन्दिरका ४ वटै ढोका खोलिने



काठमाडौं, फागुन १ । महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको छ। पशुपति क्षेत्र विकास कोषले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्वका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ।

पशुपतिनाथ क्षेत्रको सरसफाई, मन्दिर सजावट, भक्तजनका लागि सहज दर्शन व्यवस्था, र सुरक्षा व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको कोषले जनाएको छ। यस वर्षको महाशिवरात्री फाल्गुन ३ गते आइतबार मनाइँदैछ।

पर्वको दिन बिहान २ बजे पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुल्नेछन्। भक्तजन प्रवेशका लागि चार फरक स्थानमा लाइन व्यवस्था गरिएको छ।

सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसहित सुरक्षा संयन्त्र परिचालन गरिने कोषले जनाएको छ। साथै, मन्दिर वरिपरि मासु, मदिरा, गाँजा, भाङ, चरेश जस्ता पदार्थको भण्डारण, बिक्री तथा ओसार–पसार नगर्न समेत सचेत गराइएको छ।

यस पर्वमा विभिन्न देशबाट साधुसन्तहरुको आगमन भइसकेको छ, र भक्तजनहरूलाई सुरक्षित तथा मर्यादित रूपमा महाशिवरात्री मनाउन कोषले आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन १, शुक्रबार ०९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको