ओम प्रकाश यादव
रौतहट, फागुन १। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट-४ को राजनीतिक माहोल तातेको छ।
क्षेत्र नं ४ मा चुनावी प्रतिस्पर्धा दिनप्रतिदिन रोचक बन्दै गएको छ। नयाँ र पुराना दलका उम्मेदवारबीच कडा भिडन्तको अवस्था रहे पनि जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकुमार दास आक्रामक चुनावी अभियानका साथ मैदानमा देखिएका छन्।
घरदैलो, भेटघाट र साना–ठूला सभामार्फत दासले आफ्नो पक्षमा माहोल बनाउने प्रयास तीव्र पारेका छन्। समर्थकहरूले उनलाई युवा, ऊर्जावान र स्पष्ट धारणा राख्ने नेताका रूपमा प्रस्तुत गरिरहेका छन्। स्थानीय मुद्दा सदनमा सशक्त रूपमा उठाउने प्रतिबद्धता उनले दोहोर्याउँदै आएका छन्।
रौतहट–४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना, नेकपा एमालेका रामजी साह, कम्युनिस्ट धारबाट रामकुमार भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र आम जनता पार्टीका ऋषि धमला प्रतिस्पर्धामा छन्। बहुपक्षीय प्रतिस्पर्धाका कारण मत विभाजनको सम्भावना बलियो देखिएको छ।
गाउँ–गाउँमा घरदैलो अभियान, कोणसभा र शक्ति प्रदर्शन बढेका छन्। यसपटकको चुनाव सामान्य प्रतिस्पर्धा मात्र नभई पुराना स्थापित शक्ति र उदाउँदो नेतृत्वबीचको निर्णायक भिडन्तका रूपमा हेरिएको छ।
जनता समाजवादी पार्टी ९जसपा० नेपालका उम्मेदवार राजकुमार दास चुनावी मैदानमा सक्रिय रूपमा उत्रिएका छन्। युवापुस्तामाझ उनको उपस्थिति बलियो देखिएको छ। समर्थकहरूले उनलाई स्पष्ट वक्ता, जनताको मुद्दा सशक्त रूपमा उठाउने र मैदानमा खटिने नेताका रूपमा प्रस्तुत गरिरहेका छन्।
दासले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई मुख्य एजेन्डा बनाएका छन्।
स्थानीय स्तरमा बेरोजगारी, वैदेशिक पलायन, कृषि उत्पादनको समस्या, सिंचाइ अभाव, सडक पूर्वाधार र स्वास्थ्य सेवाको गुणस्तर मुख्य चुनावी बहस बनेका छन्। युवापुस्ताको निर्णायक भूमिका रहने विश्लेषण गरिएको छ।
बहुपक्षीय प्रतिस्पर्धाका कारण मत विभाजन हुने सम्भावना बलियो छ। अन्तिम समयमा हुने गठजोड, रणनीति र मतदाता परिचालन नै परिणामको मुख्य आधार बन्न सक्ने देखिएको छ।
रौतहट क्षेत्र नं ४ मा यसपटकको निर्वाचनले केवल प्रतिनिधि छनोट मात्र नभई क्षेत्रको राजनीतिक दिशासमेत तय गर्ने अपेक्षा गरिएको छ।
अन्तिम निर्णय भने मतपेटिकाले दिनेछ। फागुन २१ गतेपछि मात्रै कसले बाजी मार्ने स्पष्ट हुनेछ।






