मनोज माझी
सप्तरी, फागुन २ । प्रतिनिधिसभा निर्वाचनमा साँसद नदोहोर्याउने सप्तरी २ मा २ राष्ट्रिय अध्यक्ष, १ महामन्त्री, १ पुर्व मुख्यमन्त्री, २ पुर्वमन्त्री तथा नयाँ अनुहारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
चुनावी मैदानमा अघिल्लो निर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लाई दोब्बर मतान्तरले पराजित गरेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनआधिकार पार्टीका अध्यक्ष शरदसिंह यादव, नेपाल जनता पार्टीका महामन्त्री रञ्जु ठाकुर, मधेश प्रदेशका पुर्व मुख्यमन्त्री सतिश कुमार सिंह जस्ता दिग्गजहरु उत्रेका छन् ।
पुर्व मुख्यमन्त्री सिंह स्वाभिमान पार्टीबाट चुनावी मैदानमा छन् । यस्तै पुर्व मन्त्रीद्वय उमेश कुमार यादव र अनिस अन्सारी क्रमशः जसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीबाट यसै क्षेत्रमा चुनावी मैदानमा छन् ।

यहाँ नेपाली काँग्रेसबाट रामकुमार यादव, नेकपाबाट सुर्यनाथ यादव र नेकपा एमालेबाट मो.जियाउल पनि उम्मेदवार छन् । विगतमा यस क्षेत्रमा पालैपालो नेपाली काँग्रेस, माओवादी र मधेशवादी दलका उम्मेदवार चुनाव जित्दै आएको इतिहास छ । यसपटक नयाँ दलले टक्कर दिने गरी चुनावी मैदानमा उत्रेका छन् ।
चुनाव इतिहास बदल्ने रणनीतिका साथ नयाँ दल उज्यालो नेपाल पार्टीका डा.दिपक चौधरी र रास्वपाका ई. रामजी यादव पनि चुनावमा होमिएका छन् ।
साँसद नदोहो¥याउने क्षेत्रका रुपमा चिनिएको यस क्षेत्रमा २०७९ मा जितेका पुर्व साँसद डा. सिके राउत जित दोहो¥याउने दाउमा छन् । यद्यपी कुनैबेला उनकै पार्टीमा महत्वपुर्ण पदमा रहि सकेका सतिश कुमार सिंह, शरत सिंह यादव र अनिस अंसारी अहिले यसै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रेपछि उनलाई इतिहास रच्न चुनौती थपिएको हो ।
एक लाख पाँच हजार नौ सय २२ मतदाता रहेको यसक्षेत्रमा परिवर्तनको नारा दिदै रास्वपाका ई यादव तथा उज्यालो नेपाल पार्टीका डा. चौधरीले स्पेश बढाउँदै लगेको पाइएको छ ।
जसकारण प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ । यहाँबाट आजपाका सुनिलराज दास, राप्रपाका अजय दास, नेमकिपाका निलम कुमारी यादव, नेपालका लागि नेपाली पार्टीका इन्द्रसागर गुप्ता, लोजपाका बलराम यादव लगायत ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । मतदाताहरु भन्छन्– “यसपटक कसले बाजी मार्ला, दोहोरिने इतिहास बन्छ वा बन्दैन भन्ने कुरा फागुन २१ पछि मात्र भन्न सकिन्छ ।” यस क्षेत्रमा राजविराज नगरपालिका संगै छिन्नमस्ता, महदेवा र तिलाठी कोईलाडी गाउँपालिका पर्दछ ।







