काठमाडौँ, फाल्गुन १८ । काठमाडौंको विजयचोकस्थित एक किराना पसलबाट प्रहरीले लागुऔषध गाँजा र स्रोत नखुलेको ठूलो रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा, प्रहरी वृत्त गौशाला, काठमाडौं बाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–९ स्थित शिवानि स्टोरमा छापा मारेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय रवीन्द्र खत्री र ३७ वर्षीय सन्तोष खत्री रहेका छन्। उनीहरूको शरीर र पसलको खोजतलास गर्दा स्रोत नखुलेको १२ लाख ४७ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद रकममा एक हजार दरका ८५६ थान र पाँच सय दरका ७८२ थान नोट रहेका छन्।
नगदसहित प्रहरीले उनीहरूको साथबाट ५० ग्राम गाँजाको धुलो र ४६० ग्राम गाँजा पनि बरामद गरेको छ। त्यसैगरी, कारोबारमा प्रयोग भएको आशंका गरिएको बा ८८ प १३२१ नम्बरको स्कुटर र तीन थान मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराई का अनुसार, पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध तथा अवैध रकमसम्बन्धी थप अनुसन्धान जारी रहेको छ। प्रहरीले स्रोतको खोजी र अन्य सम्बन्धित व्यक्तिहरूको पहिचान गर्ने काम पनि अघि बढाएको छ।








