प्रतिनिधि सभा निर्वाचन : देशभर मतदान शुरु



जनकपुरधाम, फागुन २१ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ । निर्वाचन आयोगले तोकिएको समयअनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया अघि बढेको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहानैदेखि देशव्यापी रूपमा मतदान सुचारु भएको छ र अधिकांश स्थानबाट निर्वाध रूपमा मतदान भइरहेको सूचना प्राप्त भएको छ । मतदाताले आज अपराह्न ५ बजेसम्म आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन् ।



आयोगले मतदाता परिचयपत्रका साथै नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र, राहदानी वा लालपुर्जा देखाएर मतदान गर्न सकिने व्यवस्था गरेको जनाएको छ । मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ भने अपांगता भएका व्यक्ति, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी तथा गर्भवती महिलालाई विशेष सुविधा दिइएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलअन्तर्गत २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ३ हजार ६८० मतदान केन्द्रलाई अति संवेदनशील, ४ हजार ४४२ लाई संवेदनशील र २ हजार ८४५ लाई सामान्य मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । साथै १४३ अस्थायी मतदान स्थल पनि तय गरिएको छ ।

निर्वाचनको सुरक्षा व्यवस्थाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको छ । यसका साथै करिब २ लाख १५ हजार सरकारी कर्मचारी निर्वाचन कार्यमा खटिएका छन् ।

देशभर उत्साहपूर्ण वातावरणमा मतदान प्रक्रिया जारी रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०८२ फाल्गुन २१, बिहीबार ०७:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको