इरानले २०२६ फिफा विश्वकप बहिष्कार गर्ने संकेत



काठमाडौं, फागुन २८ । इरानका युवा तथा खेलकुद मन्त्री अहमद दुन्यामालीले देशको वर्तमान राजनीतिक र सुरक्षा अवस्था हेर्दा इरानले २०२६ फिफा वल्र्डकपमा सहभागी हुने अवस्था नरहेको बताएका छन्।

विश्वकप प्रतियोगिता जुन ११ बाट अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुँदैछ। इरान समूह चरणमा तीन खेल खेल्ने तालिकामा छ—जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डसँग, जुन २१ मा बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्टसँग।

तर, अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरी सर्वोच्च नेता अली खामनेइको हत्या प्रयास गरेपछि विश्वकप सहभागिता अनिश्चित बनेको हो। त्यसको प्रतिक्रियास्वरूप इरानले खाडी क्षेत्रका अमेरिकी र इजरायली सैन्य अड्डामा मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो।

मन्त्री दुन्यामालीले आईआरआईबी स्पोर्ट्स नेटवर्कसँगको अन्तर्वार्तामा भने, “हाम्रो नेताको हत्या भएको अवस्थामा खेलाडीको सुरक्षा सुनिश्चित छैन र विश्वकपमा सहभागी हुने उपयुक्त वातावरण छैन। पछिल्लो आठ–नौ महिनामा दुई युद्ध भइसकेका छन् र हजारौं नागरिक मारिएका छन्। यसैले विश्वकपमा जाने सम्भावना छैन।”

यसअघि जिमी इन्फाटिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा इरानलाई विश्वकपमा स्वागत गर्ने तयारी रहेको बताएका थिए। इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले पनि टोलीको सुरक्षा चुनौतीलाई कारण देखाउँदै विश्वकपमा पठाउने निर्णय जोखिमपूर्ण भएको बताएका छन्।

इरानले औपचारिक रूपमा विश्वकपबाट नाम फिर्ता गरेमा फिफा ले प्रतिस्थापन टोली चयन गर्ने अधिकार राख्छ। सम्भावित रूपमा एसियाली फुटबल महासंघ एएफसी भित्रको टोलीलाई अवसर दिन सकिने चर्चा छ—इराक वा संयुक्त अरब इमिरेट्स विकल्पमा रहेका छन्।

यदि इरानले सहभागी हुन अस्वीकार गर्‍यो भने, यसले अन्तर्राष्ट्रिय फुटबलमा गम्भीर प्रभाव पार्न सक्छ। इतिहासमा सन् १९८२ विश्वकप छनोटमा इरानले कुवेतसँग खेल्न अस्वीकार गरेपछि प्रतियोगिताबाट बहिष्कार भएको थियो र १९८६ विश्वकपमा फिफाले प्रतिबन्ध लगाएको थियो।

हाल फिफा प्रतीक्षामा रहेको छ र प्ले–अफ खेलपछि अन्तिम रूपमा विश्वकपका सहभागी टोलीको सूची सार्वजनिक हुनेछ।

प्रकाशित मिति: २०८२ फाल्गुन २८, बिहीबार ०९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको