भैरहवा, चैत २ । रूपन्देहीका उद्योगी–व्यवसायीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारसँग माग गरेका छन्। निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि विमानस्थल अपेक्षित रूपमा सञ्चालन हुन नसकेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन्।
भैरहवामा रहेको उक्त अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन हुन नसक्दा पर्यटन क्षेत्रमा गरिएको अर्बौँ रुपैयाँ लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको व्यवसायीहरूको भनाइ छ। पर्यटन व्यवसायी अमित गुप्ताका अनुसार यस क्षेत्रको पर्यटन क्षेत्रमा मात्रै करिब एक खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
उनका अनुसार लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट र रोहिणी नदी जस्ता ऐतिहासिक, धार्मिक तथा बौद्ध सभ्यतासँग सम्बन्धित गन्तव्यहरूको प्रवर्द्धनका लागि यो विमानस्थल मुख्य आधार मानिएको छ। तर अपेक्षित रूपमा सञ्चालन हुन नसक्दा लगानीकर्ताहरू निराश बनेका छन्।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ सरकारले विमानस्थल सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनका अनुसार विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए पर्यटनसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा पनि उल्लेखनीय परिवर्तन आउनेछ।
यस्तै, नेपाल भन्सार एजेन्ट संघ भैरहवाका अध्यक्ष मधुप्रसाद पन्थीले रूपन्देही नेपालकै महत्त्वपूर्ण औद्योगिक करिडोर भएकाले यहाँका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन विमानस्थलले महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनका अनुसार विमानस्थल नियमित सञ्चालनमा आए र नाका व्यवस्थापन प्रभावकारी भए अन्तर्राष्ट्रिय व्यापार विस्तारमा सहयोग पुग्नेछ र औद्योगिक क्षेत्र थप सशक्त बन्नेछ।
व्यवसायीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालनमा आए लुम्बिनी क्षेत्रको पर्यटनसँगै उद्योग–व्यापारमा समेत नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरेका छन्।






