जनकपुरधाम, चैत ६ । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गर्नुभएको छ। आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत जनकपुरधाम आइपुग्नुभएकी प्रधानमन्त्री कार्कीले मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो।
उहाँलाई मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्दै पुष्पमाला तथा प्रसाद प्रदान गर्नुभएको थियो। सो अवसरमा मन्दिरका पुजारीद्वारा स्वस्तिवाचनसमेत गरिएको थियो।
पूजापछि प्रधानमन्त्री कार्कीले मन्दिर परिसरको परिक्रमा गर्दै अवलोकन गर्नुभएको थियो। सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आफ्नो जनकपुर भ्रमण विशुद्ध धार्मिक उद्देश्यका लागि रहेको बताउनुभयो।
उहाँले जनकपुरधाम नेपालका धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल भएको उल्लेख गर्दै यहाँका सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। साथै जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकार सुशासन, विकास र स्थायित्वका लागि केन्द्रित रहेको उल्लेख गर्दै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
यसअघि जनकपुर विमानस्थलमा उहाँलाई मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरू तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललगायतले स्वागत गरेका थिए।






