जनकपुरधाम, चैत ८ । नेपाल तथा भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आजदेखि चैती छठ पर्व विधिवत रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यो पर्व मधेश प्रदेशका जनकपुरधाम धनुषा सहित ,महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सासहितका जिल्लामा धार्मिक आस्था र परम्पराअनुसार उल्लासपूर्वक मनाइँदैछ।
जनकपुरधामका गंगासागर, धनुषसागर, अरगज्जा सर, दशरथ तलाउ सहित यस क्षेत्रका विभिन्न पोखरी, तलाउ, नदी तथा नहर किनारमा भक्तजनहरूको उल्लेखनीय भीड रहने गरेको छ ।
छठ पर्वले सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने विश्वास रहेको छ। सूर्य उपासनामा आधारित यो पर्व संसारकै अद्वितीय परम्परा हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामनासहित भक्तजनले श्रद्धापूर्वक यो पर्व मनाउने गर्छन्।
चारदिने पर्वको पहिलो दिन ‘नहा खा’ अन्तर्गत व्रतालुले स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन्। दोस्रो दिन ‘खर्ना’मा दिनभर उपवास बसेर साँझ पूजा गरी नुनरहित भोजन खाने परम्परा छ।
तेस्रो दिन षष्ठीका अवसरमा विशेष पकवान—ठकुवा, भुसवा, खजुरिया, पेरुकिया लगायतका परिकार तथा फलफूलसहितको अर्घ सामग्री तयार गरी साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। व्रतालुहरू लोकगीत गाउँदै छठ घाटसम्म पुग्छन्।
चौथो तथा अन्तिम दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि पर्व समापन हुन्छ।
धार्मिक ग्रन्थहरूका अनुसार महाभारत मा द्रौपदी र पाण्डवहरूले सूर्यदेवको आराधना गरेको उल्लेख पाइन्छ। साथै सूर्य पुराणअनुसार अनुसुइयाले पहिलोपटक छठ व्रत गरेको जनविश्वास छ।
धार्मिक आस्थासँगै सामाजिक सद्भावको प्रतीक बनेको छठ पर्व हिन्दू मात्र नभई अन्य समुदायले पनि मनाउने गर्छन्। परम्पराअनुसार अर्घ सामग्री ७० प्रकारका चढाउने चलन भए पनि सामर्थ्य अनुसार साधारण सामग्री चढाउँदा पनि सूर्यदेव प्रसन्न हुने विश्वास गरिन्छ।






