काठमाडौं, चैत १४। नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ।
ओली पक्राउ भएपछि आकस्मिक रूपमा बसेको सचिवालय बैठकले आम जनसमुदाय र नागरिक समाजसँग मिलेर कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिकार गर्ने, शनिवार अपराह्न ३ बजे प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने, भोलि चैत्र १५ गते प्रत्येक जिल्लामा व्यापक प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने र लोकतन्त्र र कानूनी शासनका पक्षधर दल तथा नागरिक समाजसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको छ ।
सचिवालय बैठकले जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अस्वीकार गर्दै नयाँ न्यायीक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। एमाले महासचिव शंकर पोखरेलका अनुसार कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेको ठहर गरिएको हो।
पार्टीले ओली र लेखकको पक्राउ गैरलोकतान्त्रिक र कानूनी शासनको विपरीत रहेको भन्दै देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। महासचिव पोखरेलले राजनीतिक र कानूनी कदम अघि बढाउन नेताहरूलाई जिम्मेवारी तोकेको जानकारी दिएका छन्।
नयाँ संघर्षको कार्यक्रमको लागि एमालेले राजनीतिक दलसँग संयोजन गर्न उपाध्यक्ष विष्णु पौडेल , संसदीय दलसँग सम्वाद गर्न उपाध्यक्ष रामबहादुर थापा बादल, कानूनी प्रतिकारका लागि उपाध्यक्ष गोकर्ण विष्ट र जनपरिचालनका लागि पार्टी केन्द्रीय कार्यालयको जिम्मेवारी निर्धारण गरिएको छ ।
एमालेले प्रदर्शनसँगै अन्य राजनीतिक दल र नागरिक समाजसँग सहकार्य गर्दै कानूनी तथा राजनीतिक कदम अघि बढाउने योजना बनाएको छ।






