पर्सा, चैत २० । अर्थमन्त्री डा स्वर्णिम वाग्ले ले वर्तमान सरकारले सुधारका काम द्रुत गतिमा अघि बढाइरहेको बताउनुभएको छ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३र८४ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा मन्त्री वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाह को निर्देशन अनुसार काम अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले एउटा गति सेट गरिदिनुभएको छ। त्यस रफ्तारमा काम सुरु भइसकेको छ। सिङ्गो सङ्घीय सरकारले त्यो रफ्तारलाई पछ्याइरहेको छ। हाल मन्त्रालयबीच होडबाजी नै चलेको छ, एउटा मन्त्रालयको गतिलाई अर्काले उछिन्ने प्रयास भइरहेको छ।”
अर्थमन्त्री डा वाग्लेले आफूले अर्थमन्त्री पद सम्हालेदेखि नै उद्योगी–व्यवसायीलाई सकारात्मक सन्देश दिने प्रयास जारी रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार, पूर्वमन्त्री रामेश्वरप्रसाद खनाल नेतृत्वमा तयार गरिएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनका केही सिफारिस कार्यान्वयन भइरहेको छ।
डा वाग्लेले वित्त मन्त्रालयमा पद सम्हालेसँगै राजस्व अनुसन्धान विभागको खारेजी र १५ वटा पुराना असान्दर्भिक ऐनहरू खारेज गरिएको जानकारी दिनुभयो। “यो सुरुआत मात्रै हो, थप काम अगाडि बढिरहेका छन्। विगतमा गठबन्धन सरकारले काम गर्न बाहाना गर्थे, तर जनताले अभूतपूर्व मत दिएकोले अब त्यसको छुट हामीलाई छैन,” उहाँले भन्नुभयो।
उहाँले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतम ले उद्योगमैत्री नीति नहुँदा उद्योगी–व्यवसायीहरू मर्कामा परेको गुनासो गर्नुभएको छ। उहाँले प्राथमिक कच्चापदार्थको रूपमा रहेको बिजुली नियमित र भरपर्दो व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो।






