श्रीराम सुगर मिल पुनः सञ्चालनको आशा, बालेन सरकारबाट स्थानीयको अपेक्षा



ओम प्रकाश यादव
रौतहट, चैत २२ । जेनजी आन्दोलनपछि परिवर्तन भएको राजनीतिक कोर्सअनुसार सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी सरकारको नेतृत्वमा पुगेपछि आम नागरिकमा विभिन्न क्षेत्रमा सुधार हुने अपेक्षा बढेको छ। यसै सन्दर्भमा लामो समयदेखि बन्द रहेको रौतहटको गरुडा नगरपालिका–५ महम्मदपुरस्थित श्रीराम सुगर मिल्स पुनः सञ्चालन हुने आशा पुनः जागेको छ।

बालेन शाहको नेतृत्वमा बनेको सरकारले १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक गरे पनि उक्त सूचीमा श्रीराम सुगर मिल्स समावेश छैन। तर पनि नयाँ सरकारको सक्रियतामा उद्योग पुनर्जीवित हुन सक्ने विश्वास स्थानीय सरोकारवालाहरूले व्यक्त गरेका छन्



लामो समयदेखि बन्द रहेको रौतहटको श्रीराम सुगर मिल्स पुनः सञ्चालन गर्नुपर्ने माग फेरि चर्किएको छ।

जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिवेश र बालेन शाह नेतृत्वको सरकारसँगै स्थानीयवासी, किसान र सरोकारवालाहरूले उद्योग पुनर्जीवनमा ठोस पहलको अपेक्षा गरेका छन्।

२०४९ सालमा उद्योगपति दिवाकर गोल्छाले स्थापना गरेको श्रीराम सुगर मिल्स रौतहट जिल्लाकै मात्र नभई मधेश क्षेत्रकै महत्वपूर्ण औद्योगिक केन्द्रका रूपमा परिचित थियो। अत्याधुनिक प्रविधिसहित सञ्चालनमा आएको यो उद्योगले दैनिक ठूलो परिमाणमा उखु प्रशोधन गर्ने क्षमता राख्थ्यो।

मिल सञ्चालनमा हुँदा रौतहट, बारा र सर्लाहीका हजारौं किसानले आफ्नो उखु बिक्री गर्ने भरपर्दो बजार पाएका थिए।
उद्योग सञ्चालनको समयमा प्रत्यक्ष रूपमा एक हजारभन्दा बढी कामदारले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा ढुवानी, व्यापार, कृषि र सेवा क्षेत्रमा हजारौं व्यक्तिको जीविकोपार्जन यसैसँग जोडिएको थियो। उखु खेतीलाई प्रोत्साहन गर्दै किसानलाई नगदे बालीतर्फ आकर्षित गर्ने प्रमुख आधार पनि यही मिल बनेको थियो।

तर व्यवस्थापन कमजोरी, आर्थिक समस्यालगायत कारण देखाउँदै २०७७ साउन ११ गते उद्योग स्थायी रूपमा बन्द गरिएको थियो। त्यसयता किसानले उखु बिक्रीका लागि वैकल्पिक बजार खोज्नुपर्ने बाध्यता झेलिरहेका छन् भने धेरैले उखु खेती नै छाड्न थालेका छन्।

गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जयसवालले वर्तमान सरकारले उद्योग सञ्चालनका लागि आवश्यक पहल गर्ने अपेक्षा रहेको बताए। “सरकारले चाह्यो भने यो उद्योग पुनः सञ्चालन गर्न सकिन्छ,” उनले भने।
उनले व्यवस्थापन पक्षको कमजोरीका कारण उद्योग बन्द हुन पुगेको उल्लेख गर्दै नयाँ सरकारले त्यसबाट पाठ सिकेर सञ्चालनतर्फ ध्यान दिनुपर्ने धारणा राखे।

“यो उद्योग चल्यो भने यहाँको अर्थतन्त्र चल्छ। सरकार गम्भीर भयो भने सञ्चालन असम्भव छैन,” उनले भने।

स्थानीयका अनुसार उद्योग सञ्चालनमा आएमा कम्तीमा एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन्। साथै, चिनी उत्पादन र निर्यातको सम्भावना समेत रहेको उनीहरूको भनाइ छ।

उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवका अनुसार मिल सञ्चालनमा आएमा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने मात्र होइन, मुलुकमै चिनी उत्पादन बढेर आयातमा निर्भरता घट्नेछ। “यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ,” उनले भने।

अध्यक्ष यादवले उद्योग सञ्चालन हुँदा जिल्लाको मात्रै नभएर राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने बताए। उनका अनुसार उद्योग पुनः सञ्चालन भएमा किसान, मजदुरदेखि व्यापारीसम्म सबै लाभान्वित हुनेछन्।

नेता राम भरोस यादवले श्रीराम सुगर मिल्स एक समय देशकै शानका रूपमा चिनिने गरेको उल्लेख गर्दै पुनः सञ्चालनले मधेशको औद्योगिक विकासमा नयाँ ऊर्जा दिने बताए। “यो उद्योग एक समय रौतहटको मात्रै नभएर देशकै गौरव थियो,” उनले भने।

स्थानीय सरोकारवालाहरूका अनुसार उद्योग पुनः सञ्चालन हुनु केवल एउटा उद्योग खुल्नु मात्र होइन, समग्र क्षेत्रको आर्थिक पुनरुत्थानसँग जोडिएको विषय हो। मिल बन्द भएका कारण बेरोजगारी बढ्नुका साथै व्यापारिक गतिविधि समेत सुस्ताएको उनीहरूको भनाइ छ।

उद्योगपति दिवाकर गोल्छाले उखु किसानलाई आत्मनिर्भर बनाउने र स्वदेशमै चिनी उत्पादन गर्ने उद्देश्यसहित २०४९ सालमा उक्त उद्योग स्थापना गरेका थिए। रौतहट जिल्लाकै सबैभन्दा ठूलो उद्योगका रूपमा रहेको यो मिलमा बारा र सर्लाहीका किसानले समेत उखु बिक्री गर्ने गरेका थिए।

तर २०७७ साउन ११ गते उद्योग सञ्चालक समितिले ‘बाध्यात्मक परिस्थिति’ देखाउँदै स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको थियो। त्यसयता विभिन्न सरकारले पटक–पटक सञ्चालन गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुन सकेन।

हाल बालेन शाह नेतृत्वको सरकार बनेपछि पुनः उद्योग खुल्ने आशा स्थानीयमा जागेको छ। तर कहिले सञ्चालन हुन्छ भन्नेबारे स्पष्टता भने अझै आएको छैन।

अहिले बालेन शाह नेतृत्वको सरकारले सुशासन र विकासलाई प्राथमिकतामा राखेको भन्दै स्थानीयले यस विषयमा ठोस निर्णय अपेक्षा गरेका छन्।

हालसम्म मिल कहिले खुल्ने भन्नेबारे आधिकारिक निर्णय नभए पनि स्थानीय तहदेखि किसानसम्म सरकारको पहलको प्रतीक्षामा छन्। श्रीराम सुगर मिल्स पुनः सञ्चालन भएमा रोजगारी सृजना, कृषि उत्पादन वृद्धि र औद्योगिक विकासमा ठुलो टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार ०८:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको