एमालेभित्र नेतृत्व र कार्यशैलीप्रति प्रश्न, विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान



जनकपुरधाम, चैत २२ । नेकपा एमालेभित्र नेतृत्व र कार्यशैलीप्रति उठेका प्रश्नलाई लिएर विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरु भएको छ। पार्टीको ११औँ महाधिवेशन सकिएको साढे ३ महिनामात्र भएको भए पनि केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बनाइएको विषयमा विवाद उठेको छ।

पार्टीका ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरूले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको ऐतिहासिक पराजय र नेतृत्वप्रति जनताको अविश्वासलाई कारण देखाउँदै अभियान सुरु गरेका हुन्। केन्द्रीय कमिटी सदस्य र जनवर्गीय संगठनका पदाधिकारीहरू पनि यस अभियानमा संलग्न छन्। अहिलेसम्म ४४० जनाले हस्ताक्षर गरिसकेको दाबी गरिएको छ।



अभियानमा सहभागी नेताहरूले भनेका छन् कि पदाधिकारीहरूको पनि यसमा समर्थन रहेको छ। मागपत्रमा २०४८ देखि २०८२ सम्मको पार्टीको संसदीय यात्रामा हालको हार, प्रत्यक्षतर्फ १६५ मध्ये ९ सीटमा मात्र सफलता, समानुपातिकमा पनि कमजोर नतिजा र पार्टी कमिटी प्रणाली तथा नेतृत्वप्रति जनताको अविश्वास उल्लेख गरिएको छ।

विशेष महाधिवेशनको माग गर्ने पक्षले काठमाडौं उपत्यकाका १५ मध्ये ११ क्षेत्रमा एमाले उम्मेदवारको जमानत जफत हुनु र शीर्ष नेताहरूको पराजय जनताको असन्तुष्टिको संकेत भएको बताएको छ। पार्टीभित्र सामान्य समीक्षा पर्याप्त नभएर ठोस कदम आवश्यक भएको तर्क गरिएको छ।

पार्टी विधानअनुसार, बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यहरूले लिखित माग गर्दा ६ महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ। यदि महाधिवेशन आयोजना नहुँदा प्रतिनिधिहरू स्वयं महाधिवेशन आयोजक कमिटी बनाएर आयोजना गर्न सक्ने वैधानिक प्रावधान रहेको छ।

पार्टीभित्र हालको संकटमा ‘बादल प्रकरण’ र ओलीको नेतृत्वको आलोचना मुख्य कारण बनेको छ। निर्वाचन परिणामपछि विष्णु पौडेल र ईश्वर पोखरेल पक्षबीच लगातार छलफल भइरहेका छन्। ओलीलाई राजीनामा गराउने वा विशेष महाधिवेशन मार्फत नेतृत्व पुनर्गठन गर्ने विकल्पमा पार्टी पुगेको नेताहरू बताउँछन्।

प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार ०९:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको