इरानमाथि अमेरिकी दबाब , होर्मुज स्ट्रीटमा नाकाबन्दीको घोषणा



एजेन्सी, चैत ३० । युनाइटेड स्टेट सेन्ट्रल कमाण्डले सोमबार बिहानदेखि इरानका बन्दरगाहहरूमा आवतजावत गर्ने जहाजहरूमाथि नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ। यस निर्णयअनुसार इरानी पोर्ट वा तटीय क्षेत्रमा जाने–आउने सबै देशका जहाजहरूमा समान नियम लागू हुनेछ।

सेन्टकमले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै इरानसँग सम्बन्धित समुद्री गतिविधिमाथि कडाइ गरिने जनाएको हो। यो कदम डोनाल्ड ट्रम्पको निर्देशनपछि लिइएको बताइएको छ।



अमेरिकी राष्ट्रपति ट्रम्पले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण होर्मुज स्ट्रिट पूर्ण रूपमा बन्द गर्ने आदेश दिएका छन्। उनले अमेरिकी नौसेनालाई उक्त क्षेत्र हुँदै हुने जहाज आवतजावत तत्काल रोक्न निर्देशन दिएका हुन्।

यो निर्णय पाकिस्तानको इस्लामाबादमा अमेरिका र इरानबीच भएको युद्धविराम सम्बन्धी वार्ता असफल भएपछि आएको हो।

सेन्टकमका अनुसार गैरइरानी बन्दरगाहतर्फ जाने जहाजहरूलाई भने पूर्ण रोक लगाइएको छैन। साथै, व्यापारिक जहाजहरूलाई ‘नोटिस टु मेरिनर्स’ जस्ता आधिकारिक सूचनामा ध्यान दिन र गल्फ अफ ओमान तथा होर्मुज क्षेत्रमा सञ्चालन गर्दा अमेरिकी नौसेनासँग सम्पर्कमा रहन सुझाव दिइएको छ।

यसैबीच, इरानले होर्मुज जलडमरूमध्य हुँदै दैनिक सीमित जहाज मात्र पार गर्न दिने र प्रत्येक जहाजबाट शुल्क लिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने होर्मुज स्ट्रिटमा बढ्दो तनावले अन्तर्राष्ट्रिय बजारमा समेत असर पार्ने चिन्ता व्यक्त गरिएको छ।

प्रकाशित मिति: २०८२ चैत्र ३०, सोमबार ०९:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको