महिलाको स्वास्थ्यमा मिर्चेया नगरपालिकाको विशेष चासो, ४ सयभन्दा बढी महिलाको स्वास्थ्य परीक्षण



श्याम कुमार ठाकुर
सिरहा, जेठ ९ । महिलाको स्वास्थ्यमा विशेष चासो राख्दै मिर्चेया नगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य स्क्रिनिङ तथा रोकथाम शिविरमा ४ सयभन्दा बढी महिलाको उल्लेखनीय सहभागिता भएको छ।

३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिलालाई लक्षित गरी आयोजना गरिएको शिविरमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या, प्रसूति फिस्टुलातथा बाझोपन सम्बन्धी निःशुल्क परीक्षण, परामर्श र स्क्रिनिङ सेवा प्रदान गरिएको थियो।

मिर्चेया अस्पतालमा आयोजित शिविरमा बिहानैदेखि महिलाहरूको बाक्लो उपस्थिति देखिएको थियो। धेरै सहभागी महिलाले पहिलो पटक आफ्नै नगरमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाएको भन्दै खुसी व्यक्त गरेका थिए।

मिर्चेया स्वास्थ्य शाखा प्रमुख राजन कुमार साहले महिलामा लुकेर रहेका रोग समयमै पहिचान गरी उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार महिलाहरू स्वास्थ्यप्रति सचेत बन्दै गएकाले यस्ता कार्यक्रममा उत्साहजनक सहभागिता देखिन थालेको हो।

“गम्भीर रोगलाई प्रारम्भिक अवस्थामै पहिचान गर्न सके उपचार सहज हुन्छ, त्यसैले यस्ता शिविर महिलाका लागि प्रभावकारी बनेका छन्,” साहले बताउनुभयो।

विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले परीक्षणका क्रममा धेरै महिलामा प्रारम्भिक अवस्थामै विभिन्न स्वास्थ्य समस्या पहिचान भएको जनाएको छ। सहभागी महिलाहरूले गाउँ–नगरमै यस्ता सेवा उपलब्ध हुँदा ठूलो राहत महसुस भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: २०८३ जेष्ठ ९, शनिबार १७:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको