काठमाडौं, साउन २९। सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। आगामी एनपीएल सिजनका लागि सुबिसु र सुदूरपश्चिम रोयल्सबीच सहकार्य गर्ने सम्झौता भएको हो।
सम्झौताअनुसार सुबिसुले टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा साझेदारी गर्नेछ। सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभव जोड्ने उद्देश्यले सहकार्य गरिएको बताए।
उनले नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सुबिसुको निरन्तर प्रतिबद्धता रहने उल्लेख गरे।
सुबिसु लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याइरहेको बताए। सुदूरपश्चिम रोयल्ससँगको सहकार्य खेलकुदप्रतिको सुबिसुको निरन्तर प्रतिबद्धताको हिस्सा भएको उनको भनाइ छ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुबिसुसँगको सहकार्यले टोलीको व्यावसायिक तथा डिजिटल पक्षलाई थप मजबुत बनाउने बताए। उनले प्रविधि र डिजिटल कनेक्टिभिटीले नेपाली क्रिकेट, विशेषगरी सुदूरपश्चिम रोयल्सको यात्रामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
सहकार्यले समर्थक र टोलीबीचको सम्बन्धलाई अझ नजिक बनाउन सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरे।
आगामी एनपीएल सिजनका लागि सुदूरपश्चिम रोयल्सले टोली निर्माणलाई तीव्रता दिएको छ। टोलीले यसअघि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा पुनः अनुबन्ध गरिसकेको छ।






