काठमाडौं, साउन २९ । डा. धवलशमशेर राणाको नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ। राणा नेतृत्वको टोलीले शुक्रबार निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातसहित निवेदन बुझाएको हो।
जय नेपाल पार्टीका नेता सगुन लावतीका अनुसार ७९ सदस्यीय केन्द्रीय समितिको सूचीसहित दल दर्ताको प्रक्रिया अघि बढाइएको छ। उनका अनुसार धवलशमशेर राणालाई सभापति र अन्यलाई केन्द्रीय सदस्य रहने गरी पार्टी गठन गरिएको छ।
लावतीले पार्टीको चुनाव चिह्नका रूपमा ‘त्रिभुज’ प्रस्ताव गरिएको जानकारी दिए। पार्टीको विधानमा भने केन्द्रीय समिति ४५१ सदस्यीय हुने व्यवस्था गरिएको छ।
नयाँ पार्टीले सुशासन, राजनीतिक सुधार तथा नागरिकका सवाललाई प्राथमिकतामा राख्ने बताइएको छ। दल दर्ताको निवेदनसँगै अब निर्वाचन आयोगले आवश्यक कानुनी तथा प्रक्रियागत जाँचपछि दलको दर्तासम्बन्धी निर्णय गर्नेछ।
यसअघि धवलशमशेर राणा र अभियन्ता दुर्गा प्रसाईं मिलेर नयाँ राजनीतिक दल गठन गर्ने तयारी गरेका थिए। दुवै पक्षबीच नयाँ दल गठनका विषयमा सहमति बने पनि पछिल्लो समय मतभेद उत्पन्न भएपछि उक्त सहमति कार्यान्वयन हुन सकेन।
प्रसाईंसँगको सहकार्य टुंगिएपछि राणा पक्षले छुट्टै राजनीतिक दल गठन गरी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको हो। पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र राजनीतिक गतिविधिलाई अघि बढाउने तयारी गरेको जनाएको छ।






