देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ : शशांक कोइराला



काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले पार्टीको आन्तरिक एकता मजबुत बनाउँदै कांग्रेसलाई अघि बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्।

शुक्रबारदेखि सुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकताबद्ध भएर अघि बढे कुनै पनि शक्तिले पार्टीलाई पराजित गर्न नसक्ने दाबी गरे।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वप्रति आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारे। देउवाको उपस्थितिले कार्यक्रमलाई थप सफल बनाएको उल्लेख गर्दै उनले देउवाकै नेतृत्वमा पार्टी अघि बढ्ने बताए।

कोइरालाले आफ्ना पिता तथा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको स्मरण पनि गरे। बनारसमा रहँदाका केही प्रसंग सुनाउँदै उनले बीपीको निर्देशनमा आफूले देउवालाई बनारस घुमाएको बताए।

त्यस क्रममा देउवाले चलचित्र हेरेपछि त्यसको विश्लेषण गर्ने शैलीबाट आफू प्रभावित भएको कोइरालाले स्मरण गरे। उनले देउवालाई अत्यन्त भाग्यमानी र प्रभावशाली नेता भएको टिप्पणीसमेत गरे।

लोकतन्त्र स्थापनापछि तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको आग्रहमा आफू लन्डनबाट नेपाल फर्किएलगत्तै देउवा प्रधानमन्त्री बनेको प्रसंग उल्लेख गर्दै उनले देउवाको राजनीतिक भूमिकाको प्रशंसा गरे।

‘शेरबहादुरजी नै हाम्रो नेता र सभापति हुनुहुन्छ, उहाँकै नेतृत्वमा नेपाली कांग्रेस अगाडि बढ्छ,’ कोइरालाले भने।

देशका विभिन्न जिल्लाबाट भेलामा सहभागी भएका कांग्रेस कार्यकर्तालाई स्वागत गर्दै उनले कार्यक्रम व्यवस्थापनमा भएका कमीकमजोरीप्रति क्षमासमेत मागे। कांग्रेसको भविष्य पार्टीभित्रको उत्साह, एकता र आपसी सहकार्यमा निर्भर रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार १६:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको