नेकपाका खगराज भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री बन्दै, आजै शपथ



धनगढी, साउन २९ । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न समय दिएका छन्। नेकपा नेता भट्टले नेकपा एमालेको समर्थनमा तोकिएको समयभित्रै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।

भट्टले दाबी पेस गरेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्। नेकपाका एक सांसदका अनुसार भट्टको नियुक्तिपछि शुक्रबार दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।

मुख्यमन्त्रीको शपथ लिएलगत्तै भट्टले शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन्। नेकपा र एमालेबीच सुदूरपश्चिममा मन्त्रालय बाँडफाँटसमेत यसअघि नै टुंगो लागिसकेको छ।

सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको नेतृत्व पाउनेछ। एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषिमध्ये एक मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी गरेको स्रोतले जनाएको छ।

यसअघि असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि राजनीतिक समीकरण बदलिँदै जाँदा शाहले बिहीबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

राजीनामा दिएलगत्तै शाहले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए। त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाएका हुन्।

प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार ०७:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको