काठमाडौं, साउन ३० । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन अघि बढाउनुअघि सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।
मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत पहिलो कार्यक्रम शनिबार विराटनगरमा आयोजना हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे कार्यक्रम हुने मन्त्रालयले जनाएको छ।
अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा संवाद कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत अधिकारी सहभागी हुनेछन्। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित अन्य सरोकारवालाको सहभागिता रहनेछ।
मन्त्रालयका अनुसार प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझाव, समस्या र आवश्यकताका विषयमा प्रत्यक्ष छलफल गरी ती सुझावलाई प्रस्तावित शिक्षा ऐन तथा नीति निर्माणमा समेट्ने तयारी छ।
शिक्षा ऐन निर्माण प्रक्रियालाई थप सहभागितामूलक र व्यावहारिक बनाउने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ। सातै प्रदेशमा हुने छलफलबाट प्राप्त सुझावका आधारमा ऐनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।



