अख्तियार प्रमुख प्रधानमन्त्री कार्यालयमा थुनिएको विषय गम्भीर : रवि लामिछाने



काठमाडौं, भदौ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की आउनु र प्रधानमन्त्री कार्यालयमै केही घण्टा थुनिएको विषय बाहिर आउनु गम्भीर भएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले यस्तो वातावरणमा अख्तियारका अधिकारीले कसरी निष्पक्ष भएर काम गर्न सक्छन् भन्ने प्रश्न उठाए ।

‘बहालवाला प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की आउनु र त्यसमा पैसाको लेनदेनसमेत प्रमाणित हुनु अत्यन्त गम्भीर विषय हो,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालयमा थुनेर राखियो भन्ने कुरा पनि आएको छ । यस्तो ज्यानकै जोखिम हुने वातावरणको अन्त्य कसरी गर्ने भन्ने विषयमा सोच्नुपर्छ ।’

समितिको बैठकमा अख्तियार प्रमुख प्रेमकुमार राईले पासपोर्ट प्रकरण अघि बढाउने क्रममा प्रधानमन्त्री कार्यालयमा छलफल भएको विषयमा जानकारी गराएका थिए । उक्त क्रममा अख्तियारका अधिकारीलाई करिब सात घण्टा प्रधानमन्त्री कार्यालयमा राखेर दबाब सिर्जना गरिएको विषय बाहिर आएको थियो ।

लामिछानेले अख्तियार सरकारको छाया नभएको भन्दै राजनीतिक हस्तक्षेपबिना काम गर्न आग्रह गरे । ‘अख्तियार न सरकारको छाया हो, न सरकारले यसलाई माया गरेर राख्नुपर्छ,’ उनले भने, ‘कानुनले दिएको अधिकार प्रयोग गरेर निर्बाध रूपमा काम गर्नुहोस् ।’

उनले अख्तियारको अधिकार क्षेत्रसँग जोडिएको ‘नीतिगत निर्णय’ को परिभाषा कानुनमै स्पष्ट गर्नुपर्ने बताए । नीतिगत निर्णयका विषय स्पष्ट नहुँदा सरकारका निर्णय प्रक्रियामा समेत अन्योल सिर्जना हुन सक्ने उनको भनाइ थियो ।

लामिछानेले वित्तीय अपराध अनुसन्धानमा नेपाल राष्ट्र बैंकलगायत अन्य निकायको भूमिकालाई पनि प्रभावकारी बनाउनुपर्ने बताए । निजी क्षेत्र पहिले नै लगानीका लागि डराइरहेको अवस्थामा अख्तियारको अत्यधिक हस्तक्षेपले अर्थतन्त्रमा थप नकारात्मक असर पर्न सक्ने भन्दै उनले अधिकार बाँडफाँटबारे गम्भीर भएर कानुन बनाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार १७:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको