एजेन्सी, भदौ ६ । अमेरिकाको क्यालिफोर्निया राज्यको स्टेट एसेम्ब्लीले आगामी ८ नोभेम्बर २०२६ लाई ‘दिवाली डे’ का रूपमा मनाउने प्रस्ताव पारित गरेको छ । प्रस्तावसँगै राज्यका बासिन्दालाई दिवाली उत्सवमा सहभागी हुन आग्रह गरिएको छ ।
एसेम्ब्ली सदस्य दर्शन पटेल र ऐश कालराले प्रस्तुत गरेको प्रस्तावमा क्यालिफोर्निया तथा विश्वका विभिन्न स्थानमा बसोबास गर्ने भारतीय–अमेरिकी र भारतीय मूलका समुदायप्रति सम्मान व्यक्त गरिएको छ ।
बिहीबार पारित प्रस्तावमा ८ नोभेम्बरमा मनाइने यस वर्षको दिवाली पर्वलाई मान्यता दिँदै क्यालिफोर्नियाका नागरिकलाई उत्सवमा सहभागी हुन प्रोत्साहित गरिएको छ ।
प्रस्तावमा दिवालीलाई भारतीय–अमेरिकी तथा दक्षिण एसियाली अमेरिकी समुदायका लागि महत्वपूर्ण पर्वका रूपमा उल्लेख गरिएको छ । हिन्दू, सिख, बौद्ध र जैन समुदायले अमेरिका तथा विश्वका विभिन्न मुलुकमा हरेक वर्ष दिवाली मनाउँदै आएका छन् ।
दिवालीलाई विश्वका प्राचीन पर्वमध्ये एकका रूपमा उल्लेख गर्दै प्रस्तावमा यसले परिवार, साथीभाइ र समुदायलाई एकताबद्ध गराउने उल्लेख छ । पर्वले उदारता, एकता, खुसी, कृतज्ञता तथा आत्मचिन्तनजस्ता मूल्यलाई प्रोत्साहन गर्ने बताइएको छ ।
‘रोशनीको पर्व’ का रूपमा परिचित दिवालीमा घर तथा सार्वजनिक स्थानलाई दीप, दियो र विभिन्न प्रकारका बत्तीले सजाउने गरिन्छ । यस अवसरमा सुख, शान्ति, समृद्धि, ज्ञान र उत्तम स्वास्थ्यको कामना गर्ने परम्परा रहेको छ ।
क्यालिफोर्निया एसेम्ब्लीबाट दिवालीलाई औपचारिक मान्यता दिने प्रस्ताव पारित हुनुलाई भारतीय–अमेरिकी तथा दक्षिण एसियाली समुदायको सांस्कृतिक परम्परा र पहिचानको सम्मानका रूपमा हेरिएको छ ।






